काठमाडौं । शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । हुन त यो फिल्मले सुरुवातदेखि नै एउटा स्लोगन दिँदै आएको छ । ‘धेरै हाँस्न नसक्नेले यो फिल्म नहेर्नुहोला’ भन्ने स्लोगनका साथ लागि परेको यो टिमले प्रचार प्रसारमा कुनै ध्यान नदिई फिल्मलाई हलसम्म पुर्याएको छ ।
उसो त शोभित आफ्नो फिल्म प्रचार प्रसारका लागि विभिन्न फण्डा गर्ने फिल्मकर्मीका रूपमा चिनिँदै आएका छन् । तर, यस फिल्मका निर्देशक र कलाकारसम्म रहेका उनले फिल्म प्रदर्शन पूर्व विभिन्न फण्डा बाजीको प्रचार प्रसार गरे रिलिजको समयमा प्रचार गर्ने आवश्यक ठानेनन् ।
अब प्रचार प्रसार नभएकै कारण देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले कुनै शोज उपलब्ध गराएको छैन । उपत्यका र उपत्यका बाहिरका अन्य केही मल्टिप्लेक्स हलहरूले शो नै दिएका छैनन् । देशैभर यो फिल्मको करिब ३० शोज मात्रै देखिएको छ ।
फिल्मको प्रदर्शन मिति नजिकिँदा जे जति फण्डा गरे पनि त्यसको कुनै असर लागेन । निर्माण टिम प्रचारमा झन् कमजोर बन्दै गयो । यसअघि शोभितले भारतीय कमेडियन कपिल शर्माको नामै जोडेर फिल्मको प्रचार गरेर शोभितले फण्डाको हद नै पार गरे । कपिलको तस्बिरको दुरुपयोग गर्दै उनले फिल्मको खुबै प्रचार गर्न खोजे । तर, उनी आफै विवादमा फसे । कपिलको तस्बिर प्रयोग गरेको भन्दै आलोचना गरेपछि उनी पूरै सेलाए ।
कपिलले आफ्नो फिल्म ‘बद्री बहादुर’लाई प्रचार प्रसारमा साथ दिने बचन गरेको उनको दाबी थियो । यसैबीच उनले कपिललाई मुख्य हतियार बनाए । कपिलले यति भनेकै भरमा उनको तस्बिरलाई फिल्मको पोस्टरमा राखेर शोभितले सीधै दुरुपयोग गरे ।
यता, कपिलको मात्र हैन शोभितले नायिका पूजा शर्माको तस्बिरको प्रयोग गरेर फाइदा हुन्छ भन्नेमा पनि लागे । फिल्मको एउटा गीतमा नायिका पूजाले नृत्य छ । तर, पूजाको विशेष भूमिकामा भन्दै शोभितले पोस्टरमा राखेर हालसम्म प्रचार गरिरहेका छन् । यसरी तस्बिरलाई ‘मिस युज’ गरेर शोभितले फिल्मको प्रचार गर्नु आफैमा गलत देखिन्छ ।
केही समयअघि शोभित आफैसहित जय किशन लगायत टिमले नै कहिले गीत त कहिले ट्रेलर सार्वजनिक भन्दै पत्रकार सम्मेलन गरे । तर, जे गरे पनि फिल्मको क्रेज बढेको देखिएन । यस कारण फिल्मको टिम प्रचार गर्न चाहेनन् । दर्शकसामु फिल्मको कथावस्तु र पात्रको भूमिकाबारे जानकारी दिन आवश्यक ठानेनन् ।
त्यस क्रममा शोभितले नेपाली कलाकारहरूले फिल्मको प्रचारमा साथ नदिने गरेको आरोप लगाए । आफ्नो फिल्म रिलिज हुँदा मात्र नेपाली फिल्मलाई साथ दिनु भन्ने, अरूको फिल्म रिलिज हुँदा चुइक्क नबोल्ने हाम्रा नेपाली कलाकारको बानी रहेको छ भन्दै उनी जङ्गिएका थिए ।
यस्तै, अरूको फिल्म चलेन भने पार्टी गर्न समेत पछि पर्देनन् नेपालका कलाकर्मीहरू भन्दै भडाँस पोख्दै शोभितले अरूको फिल्म चल्यो भने अनुहार नै कालो बनाएर बस्ने र उसलाई कसरी हुन्छ तल झार्ने योजना गरिन्छ भनेर थप आरोप लगाए ।
यदि त्यति मात्र हैन नेपाली कलाकारको यही बानिले गर्दा आफूले प्रचारको लागि बाहिरका कलाकार खटाउनु पर्ने उनको दाबी छ । यता फिल्मका मुख्य नायक जयकिशनले भने यो फिल्म चलेन भने आफूले फिल्म क्षेत्रबाट संन्यास नै लिने घोषणा समेत गरे ।
फिल्मको टिमले गरेको तुच्छ प्रचारका कारण कति दर्शकलाई यो फिल्म आउने बारेमा जानकारी पनि छैन । तर, फिल्मका टिम भने धेरै हाँस्न नसक्नेले फिल्म नहेर्नु भन्दै हिँड्यो । जसले उनीहरूलाई मजाकको पात्र मात्र बनाइरहेको छ ।
फिल्म बनाउनभन्दा चलाउन कठिन भएकाले होला शोभितको टिमले रिलिजको समयसम्म आइपुग्दा अपनाइरहेका यस्ता फण्डाले उनीहरूको फिल्मलाई फाइदाभन्दा घाटा पुर्यायो । नत्र लाज पचाएर यस्तो तमासा किन गर्नु पर्थ्यो र ?
युट्युबको भ्युज र फिल्म हलहरूले आफ्नो साइटमा राखिदिएको पोस्टर हेरेर मख्ख भएका शोभितले हलसम्म दर्शकलाई तान्ने माहौल भने सिर्जना गर्न सकेनन् ।