काठमाडाैं । नेपालको लोकप्रिय गायन रियालिटी सो नेपाल आइडल सिजन २ का विजेतासमेत रहेका गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गायक ओडविरुद्ध उनकै श्रीमतीले वैवाहिक बलात्कारको उजुरी दर्ता गरेपछि पक्राउ पुर्जी जारी भएको इलाका प्रहरी कार्यालय झलारीले पुष्टि गरेको छ ।
इलाका प्रहरी कार्यालय झलारीमार्फत गायक ओड पत्नीले यही चैत २० गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दर्ता गरेको सार्वजनिक भएको हो । नेपाल आइडल सिजन २ का विजेता ओड कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थित गुलरियाका स्थायी बासिन्दा हुन् ।
जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएसँगै नेपालको अपराध संहिता २०७४ अन्तरगत जिल्ला अदालत कञ्चनपुरबाट पक्राउ पुर्जी लिएर गायक ओडको खोजी तीब्र पारिएको र अहिलेसम्म पक्राउ भने नपरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
वि. सं. २०६५ मा सर्वोच्च अदालतले आदेश जारी गर्नु अघिसम्म वैवाहिक बलात्कारलाई अपराध नमानिने अभ्यास रहेकोमा सन् २०१४ मा संयुक्त राष्ट्रसंघको मानव अधिकार समितिले वैवाहिक बलात्कारमा न्यून सजाय हुने नेपालको कानुनी व्यवस्था बदल्न भनेपछि वैवाहिक बलात्कार भएको ठहर भएमा पाँच वर्षसम्म कैद सजाय हुने व्यवस्था गरिएको छ ।
केही दिन अघिमात्रै पनि सर्वोच्च अदालतले वैवाहिक बलात्कारकै अभियोगमा जिल्ला अदालत कपिलवस्तुका निलम्बित न्यायाधीश भुवन गिरीलाई उनकी पत्नी आरति रावलको जाहेरीमा पुर्पक्षमै राखेर मुद्दाको अनुसन्धान गर्न आदेश दिएको थियो ।
आफ्नै श्रीमतीले वैवाहिक बलात्कारको मुद्दा दर्ता गरेसँगै गायक ओड कुनै पनि बेला पक्राउ पर्ने र न्यायिक निरुपणको कानुनी प्रक्रियामा प्रवेश गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
ओड यतिबेला जापानमा रहेका छन् । उनी फुकुओकामा हुने नेपाल फेस्टिवल २०२४ को लागि संगीतिक प्रस्तुति दिन पुगेका हुन् ।