काठमाडौं। फिल्म ‘महाजात्रा’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा बनेको यो फिल्मले पहिलो साता र दोस्रो साता गरि दश करोड चौध लाख ग्रस कलेक्शन गरेको छ ।
निर्माणपक्षले उपलब्ध गराएको आँकडामा पहिलो सातामा ६ करोड २४ लाख ग्रस कलेक्सन गरेको फिल्मले पछिल्लो साता तीन करोड नब्बे लाख ग्रस कलेक्सन उल्लेख गरिएको छ । योसँगै यसको टिमले फिल्मलाई ब्लकबस्टर घोषणा गरेको छ ।
आकस्मिक प्राप्त पैसा व्यवस्थापन गर्न आइपर्ने समस्यालाई प्रस्तुत गरिएको फिल्मले अत्यधिक दर्शकको साथ पाएको छ । तेस्रो हप्तामा प्रवेश गर्दापनि ‘महाजात्रा’ हेर्न दर्शकले हल भरिभराउ छन् । फिल्ममा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बीचको मित्रतालाई देखाईएको छ । तीन पात्रले जीविकोपार्जनका लागि गर्ने सङ्घर्ष, विभिन्न अवरोधमा टिकेको मित्रता र उनीहरूको गरिवीले डगमगाउन नसकेको नैतिकतालाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ ।
दर्शकबाट प्राप्त प्रतिक्रियाले फिल्मको उच्च हाइप बनेसँगै देशभरका फिल्महलहरुले तेस्रो सातामा पनि उच्च शो दिएका छन् । लामो समयपछि नेपाली फिल्ममा यस्तो लोभलाग्दो व्यापार देखिएको हो । फिल्मले पहिलो सातामा पाएको दर्शकले दोस्रो साताका लागि प्रचार गरिदिनुभएको निर्देशक तथा लेखक भट्टराईले बताए ।
निर्माता म्याक्स दीपेश खत्रीले फिल्मले सम्पूर्ण परिवारलाई दर्शक बनाएर हलसम्म ल्याउन सफल भएको बताए । उनले भने, ‘फिल्म हेर्न तीन पुस्ता नै हल आउनुभएको पाएँ । उहाँहरू आउँदा जति खुसी हुनुहुन्थ्यो, फर्किदा झनै खुसी देखिनुहुन्थ्यो । दर्शकलाई सन्तुष्ट पार्नु नै हाम्रो सफलता हो। हामीले नेपालसँगै विदेशमा पनि उस्तै व्यवसाय भएको विवरण प्राप्त गरेका छौँ । प्रवासमा आयोजित शोहरू सोल्ड आउट भएको देख्दा हर्षित भएका छौँ ।’
चैत ९ गतेदेखि प्रदर्शनरत फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।
षट्कोण आर्ट्सको प्रस्तुति रहेको फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।