४४ सांसदको हस्ताक्षरसहित लुम्बिनीमा महराले पेस गरे दाबी-Sutra News

४४ सांसदको हस्ताक्षरसहित लुम्बिनीमा महराले पेस गरे दाबी

शुक्रबार, २३ चैत्र २०८०

शुक्रबार, २३ चैत्र २०८०

काठमाडाैं । लुम्बिनीमा कांग्रेसका डिल्लीबहादुर चौधरी नेतृत्वको सरकार ढलेपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ ।



नयाँ सरकार गठनका लागि गठबन्धन दलहरूबाट नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेताका जोखबहादुर महराले दाबी पेश गरेका छन्। उनले ४४ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।

महराले एमालेका २९, माओवादी केन्द्रका १०, जसपाका ३, एकीकृत समाजवादीका १ र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाको हस्ताक्षर पेस गरेका छन् । ८७ सदस्यीय लुम्बिनीमा बहुमतका लागि ४४ सिट आवश्यक पर्दछ ।

नागरिक उन्मुक्ति पार्टीले पनि एमाले-माओवादी गठबन्धनलाई सघाउने निर्णय गरेकाे थियाे । तर, विवादका कारण नागरिक उन्मुक्तिका ४ प्रदेशसभा सदस्यले भने हस्ताक्षर गरेनन् ।

महरालाई समर्थन गर्ने विषयमा दलहरूबीच ७ बुँदे सहमति पनि भएकाे छ । सहमतिपत्रमा प्रदेश सरकारबाट गरिने राजनीतिक नियुक्ति सरकारमा सहभागी दलहरूको अपनत्व हुने गरी गर्ने, प्रदेशको पहिचान कायम गर्ने, प्रदेश सरकारको नीति तथा कार्यक्रम, बजेटको प्राथमिकता र उद्देश्य निर्धारण, बजेट निर्माणलगायत सरकारलाई सहयोग गर्न सरकारमा सहभागी दलहरूको नेतृत्व पंक्तिमध्येबाट एक निर्देशक समिति निर्माण गरी कार्यसम्पादन गर्ने नीति अवलम्बन गर्ने उल्लेख छ ।

महरा रोल्पाबाट निर्वाचित सांसद हुन्। यसअघि लिला गिरी मुख्यमन्त्री रहेको बखत महरा तीन महिना अर्थमन्त्री भएर जिम्मेवारी निर्वाह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट