सहकारीमा छापा मारेलगत्तै बालेनले किन भेटेका थिए रविलाई ?-Sutra News

सहकारीमा छापा मारेलगत्तै बालेनले किन भेटेका थिए रविलाई ?

शुक्रबार, २३ चैत्र २०८०

शुक्रबार, २३ चैत्र २०८०

काठमाडौं । साई स्वागत सहकारीमा छापा मारेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई भेटेको विषयले अहिले चर्चा पाएको छ । लामिछाने पत्नी निकिता पौडेल आबद्ध सहकारीमा छापा मारेकै दिन बुधबार बालेनले सिंहदरबारमा पुगेर लामिछानेलाई भेटेका थिए ।



उक्त भेट पछिमात्रै सार्वजनिक भएको थियो । जुन भेटलाई संशयपूर्णरुपमा हेरिएको छ ।

यद्यपि, मेयर साहको सचिवालयले गृहमन्त्रीसँगको भेट र साई स्वागत सहकारीमा छापा मार्ने विषय अलग भएको र गृहमन्त्रीसँग समसामयिक विषयमा मात्रै छलफल भएको दाबी गरेको छ । महानगरको सहकारी विभागमार्फत हुने अनुगमन, नियमन नियमित प्रक्रिया अन्तर्गत नै भएको मेयर बालेनको सचिवालयको दाबी छ ।

नयाँ सरकार बनेसँगै दोस्रो पटक गृहमन्त्री बनेका लामिछानेलाई मेयर साहले पहिलोपटक भेटेका हुन् । गृहमन्त्री लामिछानेसँगको भेटमा समसामयिक विषयका साथै ठमेल लगायतका क्षेत्र २४ सै घन्टा खोल्ने विषयमा लगायतका विषयमा गृहमन्त्री लामिछानेकै निमन्त्रणामा दुई नेताबिच भेट भएको मेयर साहको सचिवालयले जनाएको छ । मेयर साहसँगको भेटबारे गृहमन्त्रालयले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

यतिबेला सहकारी ठगी प्रकरणमा एकपछि अर्को गर्दै लामिछानेसहित शीर्ष नेताहरु मुछिदै जाँदा रास्वपा निकै दबाबमा छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त गृहमन्त्री लामिछानेविरुद्ध छानबिन गर्न संसदीय छानबिन समितिको माग गरिरहेको छ ।

सहकारी प्रकरणले घेराबन्दीमा परिरहेका लामिछानेलाई बालेनको कदमले थप आहत पारेको देखिन्छ । जुन घटनापछि भएको भनिएको भेटवार्ता निकै अर्थपूर्ण देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट