काठमाडाैं । नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’ विरुद्ध शुक्रवार भएको खेलमा नेपाल ‘ए’ले लज्जास्पद पराजय व्यहाेरेकाे छ । योसँगै तीन खेलको एकदिवसीय सिरिज आयरल्यान्ड ‘ए’ ले एक खेल अगावै जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको सिरिजको दोस्रो खेलमा आयरल्याण्ड ‘ए’ले नेपाल ‘ए’ लाई ११४ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
यससँगै ३ खेलको एकदिवसीय सिरिजको उपाधि आयरल्याण्ड ‘ए’ ले २–० ले जितेको छ। पहिलो खेलमा भने आयरल्याण्ड ‘ए’ले नेपाल ‘ए’ लाई २१ रन पराजित गरेको थियो। १७५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १६.५ ओभरमा ६० रनमा अलआउट भयो । नेपाल ‘ए’ का लागि भीम सार्कीले १७ र कप्तान विनोद भण्डारीले १६ रन बनाए।
अन्य ४ खेलाडीले दोहोरो अंक छुन सकेनन्। नरेन भट्टले ६, बसीर अहमद ६, अर्जुन साउद ५, र साहब आलमले १ रन बनाए। देव खनाल, मौसम ढकाल, रिजन ढकाल र आरिफ शेख भने डकआउट भए।
आयरल्याण्ड ‘ए’ का लागि म्याथ्यु हम्फ्रेजले ६ विकेट लिए। पहिलो पारीमा आयरल्याण्ड ‘ए’ ले ३८.४ ओभरमा १७४ रनमा अलआउट भएको थियो ।
आयरल्याण्ड ‘ए’ का लागि गेभिन होईले ५० र कप्तान निल रकले ४५ रन बनाए। नेपाल ‘ए’ का लागि रिजन ढकाल र साहब आलमले ३–३ विकेट लिए। मौसम ढकालले २ तथा कमल सिंह ऐरी १ विकेट लिए।
टस जितेर बलिङ थालेको नेपालले बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गर्दै आयरल्यान्ड ए लाई १७४ रनमै रोकेपनि ब्याटिङमा लज्जास्पद प्रदर्शन गरेपछि आयरल्यान्ड एसँग फराकिलो अन्तरले पराजित भएको हो । पहिलो खेलमा पनि आयरल्याण्ड ए ले नेपाललाई २१ रनले पराजित गरेको थियो ।
तेस्रो तथा अन्तिम वान डे खेल आइतबार हुनेछ ।