काठमाडौं । केन्द्रको दबाबपछि बुधबार नेकपा (माओवादी केन्द्र)बाट मुख्यमन्त्री रहेका राजकुमार शर्माले पदबाट राजीनामा दिए । विश्वासको मत लिन बोलाइएको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै शर्माले राजीनामाको घोषणा गरेका थिए ।
सत्ता साझेदार दलहरुबीच कर्णालीको नेतृत्व नेकपा (एमाले)ले लिने सहमति भएको थियो । सत्ता साझेदारको केन्द्रमा भएको सहमतिअनुसार शर्माले राजीनामा दिएका थिए ।
शर्माले अन्तिमसम्म राजीनामा दिन अस्वीकार गरिरहेका थिए । तर, केन्द्रको दबाबपछि उनी पछि हटेका थिए ।
तर, शर्माले राजीनामा दिएपछि पनि कर्णालीमा सरकार गठनको विषय अन्योलपूर्ण बनेको छ । एमाले र माओवादी केन्द्रबीच सत्ता बाँडफाँटमा सहमति नजुट्दा सरकार गठनको विषय अन्योलपूर्ण बनेको हो ।
सरकारको नेतृत्वबाट बाहिरिएको माओवादी केन्द्रले सभामुखसहित महत्वपूर्ण चार मन्त्रालय माग गरेको छ । तर, एमाले भने माओवादीको अडानमा सहमत छैन । माओवादी आफ्नो अडानबाट टसमस नहुँदा सरकार गठनको विषय लम्बिरहेको छ ।
शर्माले राजीनामा दिएसँगै दलहरुबीच बिहीबार नेकपा (एमाले)बाट संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने छलफल भएको थियो । तर, दलका शीर्ष तहमा भएको सो छलफल प्रदेशभित्रको राजनीतिले प्रभावित बन्यो । प्रदेश तहमा सहमति नबनेपछि मुख्यमन्त्रीमा कँडेलको दाबी पेश हुन सकेको छैन ।
अहिले एमालेले मुख्यमन्त्रीको दाबी पेशपछि अन्य विषयमा सहमति गर्ने बताएको छ । तर, माओवादी केन्द्रको प्रदेश दल उक्त विषयमा सहमत छैन । जसको कारण शुक्रबार पनि सरकार गठनका लागि दाबी पेश हुने अवस्था रहेन ।
नेकपा माओवादी केन्द्र प्रदेश सभा दलका प्रमुख सचेतक रणसिंह परियार माओवादी केन्द्रले स्वभाविक माग राखेको बताउँदै पछि हट्ने अवस्था नरहेको बताउँछन् । प्रदेशमा ठूलो दलको हैसियतमा रहेको माओवादी केन्द्रलाई कमजोर बनाएर सरकार गठनको कल्पना गर्न नहुने उनको भनाई छ ।