काठमाडौं । आगामी वैशाख १५ गते इलाम २ र बझाङ १ (१) मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । यसका लागि उम्मेदवारले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न सक्ने छन् ।
निर्वाचन कार्य तालिकाअनुसार मनोनय दर्तापश्चता शनिबार साँझ नै मनोनयन सूची प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ । आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ । अपराह्न ३ बजेपछि २६ गते बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गर्न पाइने छ ।
२६ गते बेलुका उम्मेदवारको नामावली प्रकाशन भएपछि २७ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ । यसै दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ५ बजेसम्म निर्वाचन निह्न प्रदान गरिने कार्य तालिका छ ।
मतदान २०८१ वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ ।
इलाममा तत्कालीन सांसद सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । बझाङमा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको पनि दुर्घटनामा निधन भएको थियो ।