काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले सहकारीले ठगेको आफ्नो पैसा उठाइदिनेलाई पैसा दिने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापतिसमेत रहेका अर्यालले सहकारीमा आफ्नै २३ लाख लगानी डुबेको बताए । यस क्रममा उनले रकम उठाइदिनेलाई एक दुई लाख रुपैयाँसम्म दिने बताएका हुन् ।
उनले सहकारीमा २३ लाख लगानी गरे पनि अहिलेसम्म फिर्ता नलिएको दाबी गरे । उनले सहकारीमा रहँदा आफूले उपाध्यक्ष हुनका लागि एउटा सही छाप गर्नुबाहेक अरु कुनै कारोबारमा सही नगरेको बताए ।
‘रास्वपको उपसभापति डिपी आर्याल पनि सहकारी ठगीमा तपाईंहरुलाई लाग्ला, मैले २३ लाख रुपैयाँ लगानी गरेको छु त्यो सहकारीमा, म ठगिएको छु, मलाई त्यो २३ लाख उठाइदिए हुन्थ्यो, बोल्ने सांसदहरुले,’ उनले भने, ‘लेख्ने मिडियाका साथीहरुले २३ लाख मेरो उठाइदिउन्, बरु उहाँहरुलाई म अलिअलि दिन्थेँ, मेरो २३ लाख आएपछि उहाँहरुको सचिवालय चलाउन, अध्ययन गर्न दिन्थेँ, मै ठगिएको छु ।’
यस्तै उनले रास्विपा आएपछि देशको नेतृत्व गर्न आफ्नो पालो नआउने डरले कांग्रेसका युवा नेताहरुले विरोध गरिरहेको बताए । उनले लोकतन्त्र सिकाउन खोज्ने कांग्रेसले आफूलाई बोल्नका लागि मात्रै लोकतन्त्र ल्याएको भनेको हो ? भन्दै प्रश्न गरे ।
‘हामीलाई उहाँहरुले लोकतन्त्र सिकाउनु हुन्छ, अझ युवाले, उहाँहरुलाई के थियो भने एउटा पुस्ता सकिएपछि हाम्रो पालो आउँछ, तर रास्वपा आयो, अब त त्यो पुस्ता सकिएपछि पनि हाम्रो पालो नआउने भयो भनेर उहाँहरुमा छटपटि भएको छ,’ उनले भने ।