काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीको दाबी पेश गरिएको छ । आइतबार एमाले, माओवादी केन्द्र र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष दाबी पेश गरिएको हो ।
दलहरुले प्रदेश प्रमुखसमक्ष सभामुखको समेत संख्या गनेर दाबी पेश गरेका छन् । एमालेका प्रमुख सचेतक गोविन्द नेपालीका अनुसार एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र १ गरी ३१ जनाको समर्थनमा दाबी पेश गरिएको छ । नेपालीले दाबी पेश संविधानसम्मत भएको बताए ।
केन्द्रमा सत्ता समीकरण फेरिएपछि सुरेन्द्र पाण्डे नेतृत्वको सरकारबाट माओवादी केन्द्र अलग भएको थियो । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो ।
माओवादी केन्द्र अलग भएसँगै अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले चैत २१ मा पदबाट राजीनामा दिएका थिए । पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको लागि दाबी पेश गर्न समय दिएका थिए ।
यसअघि कोशी प्रदेशमा पनि सभामुखसहितको संख्या गनेर दाबी पेश गर्दै सरकार बनाउँदा सर्वोच्च अदालतले उल्ट्याइदिएको थियो । त्यही घटना गण्डकी प्रदेशमा पनि दोहोरिने देखिएको छ ।
सम्बन्धित समाचार