उचित शो नदिएपछि ‘द रेड सुट्केस’ क्युएफएक्समा प्रदर्शन नहुने-Sutra News

उचित शो नदिएपछि ‘द रेड सुट्केस’ क्युएफएक्समा प्रदर्शन नहुने

सोमबार, २६ चैत्र २०८०

सोमबार, २६ चैत्र २०८०

काठमाडौं । यही चैत ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘द रेड सुटकेस’ क्यूएफएक्समा नलाग्ने भएको छ ।



फिल्मको निर्माण कम्पनी आइसफल प्रोडक्सनले आइतबार जारी गरेको विज्ञप्तिमा ‘द रेड सुटकेस’लाई देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स क्यूएफएक्स चेनका कुनै पनि हलमा प्रदर्शन नगर्ने घोषणा गरेको हो । यसको निर्माण पक्षले क्यूएफएक्सले देशी तथा विदेशी फिल्मको चापका कारण उचित शो दिन नसकिने इमेल लेखेको भन्दै यस्तो कदम चाल्न बाध्य भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

फिल्मका निर्माता रामकृष्ण पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रदर्शनको सँघारमा देशको सबैभन्दा ठूलो सिनेमा चेन क्यूएफएक्सले ‘द रेड सुटकेस’लाई अन्य देशी-विदेशी फिल्मको चापका कारण उचित शो दिन नसकिने र अर्को हप्ता रिलिज गरे पुनर्विचार गर्न सकिने आशयको इमेल लेखेपछि हामीले यसलाई आपत्तिजनक मान्दै क्यूएफएक्स चेनमा फिल्म प्रदर्शन गर्न नसकिने घोषणा गरेका छौँ ।’

निर्माण पक्षले अन्य हलमा भने पूर्व निर्धारित मितिमा नै फिल्म रिलिज हुने उल्लेख गर्दै देशलाई फिल्मको माध्यमबाट संसारभर प्रतिनिधित्व गर्ने यस्ता फिल्मलाई नेपालमा व्यापारको नाममा गरिने विभेद नयाँ नभएको पनि उल्लेख गरेको छ ।

कलात्मक चेतमा निर्माण भएका फिल्मलाई व्यापार नगर्ने फिल्मको लेबल लगाएर बारम्बार निरुत्साहित गर्ने काम भइरहेकोप्रति निर्माता पोखरेलले आपत्ति जनाएका छन् । चाडपर्व र बिदाको समयमा यस्ता फिल्मलाई प्रदर्शनको मौका नदिएर नजानिँदो गरी हलले फरक धारका फिल्म दर्शकको रुचिमा पर्दैनन् भन्ने भाष्य निर्माण गरिरहेको उनको आरोप छ । निर्माण पक्षले फिल्म नै रिलिज नहुँदै कुनै पनि फिल्मको व्यापारको भविष्यवाणी नगर्न पनि आग्रह गरेको छ । निर्माताले आफूहरूले सम्मानजनक व्यवहारको पक्षमा आफूहरू रहेको बताएका छन् ।

यस्तै विज्ञप्तिमा भनिएको छ, ‘हामी फिल्म हलहरूको व्यापारिक सिद्धान्तको विरुद्धमा कदापि छैनौँ । हामीले फिल्म हलका सम्पूर्ण शो हामीले पाउनुपर्छ भन्ने आग्रह राखेर यस्तो निर्णय गरेका पनि हैनौँ । हामी, हाम्रो फिल्मको दर्शक सीमाको बारेमा पनि अवगत छौँ । तर कम्तीमा शुक्रबार हलमा फिल्म नलागुन्जेल, कुनै पनि फिल्मको व्यापारको भविष्यवाणी नगरौँ भन्ने हाम्रो आग्रह हो । हामी सारमा सम्मानजनक व्यवहारको पक्षमा छौँ।’

फिडेल देवकोटाको निर्देशनमा तयार भएको यो फिल्ममा सौगात मल्ल, विपिन कार्की, प्रवीण खतिवडा र श्रृष्टी श्रेष्ठको मुख्य भूमिका छ । यो फिल्मको प्रशारण अधिकार एचबिओले खरिद गरिसकेको छ ।

फिल्ममा सुशन प्रजापतिको छायांकन र समन अलभितिगाको सम्पादन छ । रामकृष्ण पोखरेल, शोभा थापा र फिडेल देवकोटा निर्माता रहेको फिल्मको सह-निर्माता श्रीलंकाका विमुक्ति जयसुन्दरा हुन् । निर्माता पोखरेलले यसअघि ‘ऐना झ्यालको पुतली’ र ‘हल्कारा’ निर्माण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट