संसद अवरोध खुलाउन पहल गर्दै सभामुख, छलफलका लागि बाेलाए शीर्ष नेतालाई-Sutra News

संसद अवरोध खुलाउन पहल गर्दै सभामुख, छलफलका लागि बाेलाए शीर्ष नेतालाई

सोमबार, २६ चैत्र २०८०

सोमबार, २६ चैत्र २०८०

काठमाडाैं । सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् । सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित चार ठूला दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन् ।



सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएअनुसार संसद अवरोध खुलाउने विषयमा छलफल सभामुखले शीर्ष नेताहरूलाई बाेलाएका हुन् । छलफल दिउँसाे २ बजे सिंहदरबारमा हुने अधिकारीले जानकारी दिए ।

यसअघि बिहान १० बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनमा भएकाले सारिएको अधिकारीले बताए।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेलाई बोलाइएको छ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदनमा निरन्तर गृहमन्त्रीसमेत रहेका रास्वपा सभापित लामिछानेको राजीनामा माग गर्दै आएकाे छ । सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसकाे अडान छ ।

कांग्रेसले छानबिन समिति नबने चैत २७ गतेदेखि सदन अवरुद्ध गर्ने चेतावनीसमेत दिएको छ ।

यसअघि सभामुख घिमिरेले संसदको अवरोध खुलाउने विषयमा दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए। उक्त छलफलमा कांग्रेसले उपप्रधानमन्त्री लामिछानेलाई संसदको रोष्ट्रम प्रयोग गर्न नदिने शर्तमा संसद बैठक चल्न दिने भनेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट