काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाउने अडान कायमै राख्ने भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न राख्दै आएको अडान कायम राख्ने निर्णय गरेको हो ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले आफूहरूले उठाएको माग कायमै राख्ने निर्णय गरेको हो । संसदीय छानबिन समितिको मागसहित थप छलफलका लागि संसदीय दलको बैठक बसेको हो ।
कांग्रेस संसदीय दल कार्य समितिको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा भोलि बिहान ८ बजे बस्ने बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।
यसैबीच सभामुख देवराज घिमिरेले शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । त्यही छलफलमा जानुअघि देउवाले पार्टी पदाधिकारीसँग छलफल गरेका हुन् ।
सभामुखले देउवासहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेसँग छलफल गर्ने भएका हुन् । सरकारलाई कांग्रेसले समिति गठन गर्न भोलिसम्मको ‘अल्टिमेटम’ दिएको छ ।