काठमाडौं । फिल्म ‘महाजात्रा’ प्रदर्शनको तेस्रो सातामा प्रदर्शनरत छ । ‘जात्रा’ र ‘जात्रै जात्रा’पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको तेस्रो सातामा नेपालमा एघार करोड बढीको ग्रस कलेक्सन गरेको छ ।
फिल्मको आइतबार बेलुकी आयोजित विशेष शोमा पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पाटी (एकीकृत समाजवादी ) का सम्मानित नेता झलनाथ खनालले ‘महाजात्रा’ हेरेका छन् । फिल्म हेरेपछि नेता खनालले भ्रष्टाचारी नेतालाई गतिलो मुक्का प्रहार गरिएको भन्दै प्रतिक्रिया दिएका छन् ।
नेता खनालले भने, ‘नेपाली जनताले अपेक्षा गरेको जस्तै फिल्म बनेको पाएँ । नेपाली समाजमा जुन प्रकारको भ्रष्टाचार, तस्करी देखिएको छ र त्यसलाई नेताहरूले संरक्षण गरेका छन्, त्यसको कारण देशमा युवा रित्तिएका छन् । यसले त्यस्ता गलत आशय राख्ने नेताको भण्डाफोर गरेको छ । यो फिल्ममा अभिनेता हरिवंश आचार्यले आफ्नो पात्रमार्फत क्रान्ति नै गर्नुभएको छ । नेताहरू नसच्चिएसम्म देश बन्दैन, यस्तो क्रान्ति पर्दा बाहिर पनि चाहिएको छ ।’
उनले फिल्म हेरिरहँदा भरपुर मनोरञ्जनसँगै सन्देश समेत ग्रहण गर्न पाएको बताए । ‘फिल्ममा अभिनय गर्ने सबै कलाकारले कुशल कलाकारिता प्रदर्शन गर्नुभएको छ, पर्दामा देखिने पात्र जीवन्त छन् । म यो फिल्मलाई दश नम्बरमा ९.९ दिन्छु, यसले हाँसो मजाकमै गम्भीर विषयलाई उठान गरेको छ’, नेता खनालले भने ।
उनले फिल्म हेरिसकेपछि निर्माण पक्षसँगै कलाकारलाई भेटेर बधाई दिँदै आगामी दिनमा समेत यस्तै फिल्म ल्याउन आग्रह गरे । नेता खनालसँगै निर्देशक तुलसी घिमिरे, बद्री अधिकारी, अभिनेत्री गौरी मल्ल, अञ्जना बराइली, अभिनेता निश्चल खड्का, रेअर राई, आयुष्मान देशराज श्रेष्ठ, कमेडियन सन्दीप क्षेत्री लगायतले फिल्म हेरेका थिए ।
कमेडियन सन्दीप क्षेत्रीले ‘जात्रा’ शृङ्खला यहाँसम्म आइपुग्दा परिपक्व हुँदै अगाडि बढेको भन्दै प्रशंसा गरे । ‘यो फिल्ममा के छैन ? यही कारण प्राय घरका परिवारलाई सिनेमा हलमा भेटिरहेका छौँ’, उनले भने ।
निर्देशक तुलसी घिमिरेले हँसाउने र रुवाउने दृश्यलाई एकसाथ पर्दामा ल्याउन सक्ने भन्दै लेखकसँगै निर्देशक रहेका प्रदीप भट्टराईको प्रशंसा गरे । ‘यो फिल्म भन्दा पनि आँखीझ्याल झैँ लाग्यो । यहाँबाट देश, समाज र हाम्रो परिस्थितिलाई चिहाउन सकिन्छ । यस्ता फिल्मले दर्शकलाई पनि शिक्षित बनाउँछ, राम्रा उदाहरण पेस गरेको छ’, निर्देशक घिमिरेले भने ।
अभिनेत्री गौरी मल्लले पहिलो हाफमा हाँसो रोक्न कठिन भएको र दोस्रो हाफ आफ्ना लागि सर्प्राइज रहेको बताइन ।
अभिनेत्री अञ्जना बराइलीले षट्कोण आर्ट्सको फिल्ममा हुने अपेक्षा पूरा भएको बताइन । ‘यो समूहले गर्ने कामलाई ढुक्क भएर विश्वास गर्ने निराश भएका छैनन्, यस पटक झनै सशक्त भएर फिल्म बनेको छ । मैले यो फिल्मलाई रेटिङनै गर्न सक्दिन । स-परिवार आएर हेर्नुस्’, अभिनेत्री बराइलीले भनिन् ।
‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ मा आपत्कालीन रूपमा आइलाग्ने धन व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने चुनौतीलाई रोचक शैलीमा प्रस्तुत गरिएको छ ।
म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्नु भएको फिल्मलाई लेखन तथा निर्देशन प्रदीप भट्टराईले गरेका छन् । फिल्ममा अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, दिव्य देव, राजाराम पौडेल लगायतका कलाकारले अभिनय गरेका छन् । कार्यकारी निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँले दर्शक र राजनीतिज्ञले सन्देश ग्रहण गरेको विषयलाई टिमको सफलताको रूपमा चित्रण गरे ।
‘हामीले उठाएको आवाज र व्यक्त गरेको भावना सबैले बुझ्नु भएको छ । तेस्रो सातामा गरिरहेको व्यापार र हल भ्रमण पाइरहेको प्रतिक्रियालाई शब्दमा व्यक्त गर्न सकिँदैन’, अभिनेता बानियाँले भने ।