काठमाडौं । पूर्व मिस इन्टरनेसनल तथा मोडल नीति शाहले कुनै ताका मोडलिङ गर्दा फिल्मको अफर लिएर जाने निर्माता निर्देशकलाई फिल्ममा रुचि नभएको जवाफ दिएर फर्काउने गरेकी थिइन् । एउटा हाई प्रोफाइल ब्रेकअप पछि अचानक उनलाई फिल्म खेल्ने हुटहुटी चल्यो । आफैँ फिल्म बनाउनेदेखि खेल्नेसम्मका लागि कसरत थालेकी उनले ल भन्नु मात्र के थियो फिल्म खेल्ने अफरको ताँती लाग्थ्यो । यसपछि त उनले अभिनय गर्ने भनेर फिल्म साइन गर्दै गइन् । तर, उनले साइन गरेका फिल्म आजभोलि भन्दा भन्दै फ्लोरमा जानै सकेन ।
नीतिका लागि फिल्म क्षेत्रमा प्रवेश गर्न गाह्रो भइरहेको बेला फिल्म ‘खजुरे ब्रो’बाट डेब्यू गरे पछि लगातार व्यस्तता बढ्दो छ । डेब्यू फिल्म प्रदर्शन नहुँदै उनको व्यस्तता एकपछि अर्को गर्दै निकै बढ्दो देखिन थालेको छ । यतिबेला उनले फिल्मका लागि केही कुरा सुन्छु मात्र के पर्छ उनलाई फिल्ममा भित्र्याउने र साइन गराउने मेकरको ताँती लाग्न थालेको छ ।
दर्शकमाझ आफ्नो डेब्यू काम देखाउन उत्साहित नीति फिल्म मेकरहरुको रोजाइमा पर्न थालेकी छन् । उनले थप दुई वटा फिल्म साइन गरिसकेकी छिन् । यसअघि ‘खजुरे ब्रो’मा काम गरिसकेकी छिन् भने ‘रुखान’ उनले साइन गरेको अर्को फिल्म हो । फिल्मवृतमा नीति शाहको नाममा सन्तोष सेन निर्माण गर्न लागेको फिल्म ‘बलिदान’मा पनि चर्चामा छ । यस फिल्ममा उनले काम गर्ने केही चरण कुराकानी भएको र मोटामोटी सहमति नै भइसकेको बताइन्छ ।
यस्तैमा, मोडल नीति अर्को नयाँ फिल्म ‘ज्वाइँ साब’मा अनुबन्धित भएकी छिन् । वसन्त निरौलाको निर्देशनमा बन्न लागेको यस फिल्मका लागि निर्माणपक्षले सोमबार उनीसँग कागजी संझौता गरेको हो । रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको फिल्म ‘ज्वाइँ साब’मा नीतिले कलाकार जितु नेपालसँग सहकार्य गर्नेछिन् ।
यो फिल्मको शिर्ष भूमिकाका लागि जितु अनुबन्धित यस अघि नै भइसकेका छन् । सामाजिक कथावस्तुलाई कमेडी शैलीमा भन्ने यो फिल्ममा कथाको माग अनुसार नै नीतिलाई अनुबन्धित गरिएको निर्देशक निरौलाले जानकारी दिएका छन् ।
फिल्ममा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् । यो फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।
बैशाखको १५ गतेबाट फिल्मको छायांकन सुरु हुनेछ । फिल्मको प्रदर्शन मिति आउँदो बर्षको तिहारलाई फाइनल गरिएको छ ।