काठमाडाैं । केन्द्रमा सत्ता सहकार्यमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले कोशीमा वैकल्पिक सरकार निर्माणको तयारी थाल्दा अर्को मुख्य दल नेकपा (एकीकृत समाजवादी) भने बाहिरै रहेको छ । एकीकृत समाजवादीले केदार कार्की नेतृत्वको सरकारलाई नै समर्थन कायमै राख्ने जनाएको छ ।
सोमबार एमाले–माओवादी कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै वैकिल्पक सरकार निर्माणको प्रयासमा जुटिरहेको बेला एकीकृत समाजवादीले भने समर्थन कायमै रहने बताएको हो । एकीकृत समाजवादीले तत्काल आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने सम्भावना पनि नरहेको प्रष्ट्याएको छ ।
एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले आफूहरु सरकार हेरफेरेको खेलमा नलागेको बताए । “हामी पार्टीका काममा छौं, सरकारबारे चासो दिएका छैनौं”, सञ्चार माध्यमसँगको कुराकानीमा उनले भनेका छन्, “समर्थन फिर्ता गर्ने विषयमा छलफल भएको छैन ।”
कार्की नेतृत्वको सरकारमा एकीकृत समाजवादीका कमल जगेबु भौतिक मन्त्री छन् ।
कोशीमा एकीकृत समाजवादी स्वयम् सरकारको नेतृत्वमा दाबी गरेको थियो । तर, एमाले र माओवादीले नेतृत्व दिन रुची नराखेपछि एकीकृत समाजवादी असन्तुष्टि व्यक्त गर्दै मौन देखिएको हो ।