काठमाडौं । मिलन चाम्सको निर्देशन रहेको फिल्म ‘वर एण्ड बधु’को पहिलो चरणको छायाकंन करिब २० महिनाअघि सकिएको थियो ।
करिब २० महिनाअघि ५० प्रतिशत छायांकन रोमानियामा सक्काएर रोकिएको यो फिल्मको बाँकी छायांकन नेपालमा गर्ने तयारीसहित निमार्ण पक्ष जुटेको हो ।
निर्देशक चाम्सले चैत्रको तेस्रो साताबाट छायांकनको काम अगाडि बढ्ने बताएका थिए । यस्तै, फिल्मका डेब्यू नायक विवेक कर्माचार्य शरीर सुगठित गरिरहेको तस्विर सार्वजनिक गरिएको थियो ।
यो फिल्मको बाँकी ५० प्रतिशत छायांकन नेपालमा गर्ने तयारी हुँदै गर्दा अभिनेत्रीको भूमिकामा सकम्बरी गीतबाट चर्चामा आएकी मोडल कुशुम शर्माको प्रवेश भएको छ ।
रोमान्टिक कमेडी कथामा तयार भइरहेको यो फिल्ममा बधुको भूमिकामा नायिका आँचल शर्माले प्रमुख भूमिकामा छिन् । यसै फिल्मका लागि निर्माण पक्षले कुशुमसँग सोमबार सम्झौता गरेको सूत्र न्यूजलाई जानकारी प्राप्त भएको छ ।
यो कुरालाई निर्माण पक्षले आधिकारिक रुपमा केही दिनमा जानकारी गराउने तयारी गरेको छ । फिल्ममा आँचल र विवेकसँगै विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, किरण केसी, बुद्धि तामाङ, हिमेश पन्त, रविना केसी, सृष्टि खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहने छ ।
डाक्टर अमित रिजाल कार्यकारी निर्माता रहेको यो फिल्मलाई एल आर के इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो । सुदिप बरालको छायांकन रहेको यो फिल्मले विवाहको संकृतिलाई पर्दामा देखाउने निर्माण पक्षले बताएको छ ।
कुशुमले यसअघि आर्यन सिग्देलसँग अनस्क्रिन रोमान्स गर्ने भन्दै फिल्म सञ्जिवनी साइन गरेकी थिइन् । तर, यो फिल्म घोषणा भएको करिब ६ महिना बितिसक्दा पनि छायांकनमा जान सकेको छैन । मोडल कुशुमको डेब्यु फिल्म कुन हुने हो ? भन्नेबारे यी दुई फिल्मको छायांकन र प्रदर्शन मितिले तय गर्ने छ ।