काठमाडाैं । मंगलबारदेखि सुरु भएको नेकपा (एमाले)काे पर्वत जिल्लाकाे १० औं अधिवेशनमा नयाँ नेतृत्वका लागि निवर्तमान राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना र वर्तमान कानुन मन्त्री समूहकाबीच रस्साकसी सुरु भएको छ। मंगलबारदेखि सुरु भएको अधिवेशनको पार्टी उपाध्यक्ष बिष्णु पौडेलले उद्घाटन गरेका छन् र
तिमिल्सिना र गिरी पक्षबिच प्रतिनिधि ल्याउनेदेखि नेतृत्वमा रस्साकस्सी चलिरहेको छ । रस्साकस्सीमा आफ्नो पक्षलाई नेतृत्वमा ल्याउन तिमिल्सिनाले ठूलै जोडबल गरिरहेको छ। उनको समूहलाई सघाउन पृथ्वी सुब्बा गुरुङ यतिबेला पर्वतमा छन्।
उनीसँगै तिमिल्सिना समूहको पक्षमा पूर्व संविधान सभा सदस्य कल्पना चापागाईं, पूर्व संविधानसभा सदस्य एवम पूर्व प्रदेश पर्यटनमन्त्री विकास लम्साल लगायत मन्त्री गिरी पक्षलाई रोक्नका लागि गोलबद्ध भएका छन्।
यता युवा टिमको नेतृत्व गर्दै मन्त्री गिरी सचिव पहाडीको पक्षमा लागिपरेका छन्। यो दुई समूहबीच प्रतिनिधि छनौटदेखि नै रस्साकस्सी चल्दै आएको छ। गिरी समूहले तिमिल्सिना समूहलाई कडा टक्कर दिइरहेको बताइन्छ।
यसैगरी गिरी समूहलाई रोक्न लागेको तिमिल्सिना समूहमा नेतृत्वका लागि अझै सहमति जुटेको छैन। गिरी समूहबाट पहाडी एक्ला प्रतिष्पर्धी बन्दा तिमिल्सिना पक्षबाट राजु पौडेल र पदमपाणी शर्माले आआफ्नो दाबी प्रस्तुत गरेकाले यो समूहमा विवाद बढिरहेको बताइन्छ।
वर्तमान अध्यक्ष राजु पौडेलले नेतृत्वमा दोहोरिने चाहाना राखेका छन् र पदमपाणी शर्माले वर्तमान उपाध्यक्ष भएकाले स्वभाविक रुपमा नेतृत्वको दाबी कर्ताका रुपमा आफूलाई पेस गरेका छन्।
तिमिल्सिना पक्षले कुश्माको रोयल कुश्मा होटललाई सचिवालय बनाएर चुनाव केन्द्रीत तयारी गरिरहेको भएपनि तिमिल्सिनाले राजु पौडेललाई बोक्ने संकेत पाएपछि बलियो मानिएका पदमपाणी अफठ्यारोमा परेका छन् ।
तिमिल्सिना पक्ष वर्तमान अध्यक्ष राजु पौडेललाई नै सकेसम्म सर्वसम्मत गर्ने नभए निर्वाचनमा भिड्ने मुडमा रहेको श्रोतको दाबी छ । हालसम्म एमाले पर्वतमा गुट नभएपनि गत फागुन २० गते राष्ट्रियसभा अध्यक्षको पदावधि सकिएर जिल्ला फर्किएका गणेश तिमिल्सिना पालिका दौडाहामा हिडेपछि गिरी पक्षले काउन्टर दिन र नयाँ नेतृत्व आफ्नो पक्षमा पार्न बलियो तयारी गरिरहेको छ ।
गिरीसमूहको समिकरण बलियो भएकाले नै पृथ्वी सुब्बा गुरुङ पर्वत पुगेको बताइन्छ।
एमाले पर्वतका अध्यक्ष राजु पौडेलले आफ्नो नेतृत्वमा एमाले पर्वतले धेरै सफलता पाएकाले पुनः नेतृत्वको दौडमा होमिएको बताए । ‘म अध्यक्ष भएपछि एमाले पर्वतले धेरै सफलता पाएको सबैलाई छर्लङ्गैछ’ पौडेलले भने, ‘९ महिना बाँकी रहदै अधिवेशन गर्न लागेका छौ, यसले पनि मैले धेरै भन्न परेन ।’
उनले सकेसम्म सर्वसम्मत गर्ने प्रयास आफू रहेको बताए । ‘सर्वसम्मत नै गर्छौ, सर्वसम्मत सबैभन्दा लोकतान्त्रिक विधि हो, होइन भने आन्तरिक प्रतिष्पर्धा हुन्छ’ उनले भने ।
उता उपाध्यक्ष पदमपाणी शर्माले आफु तल्लो पदबाट क्रमिक रुपमा उपाध्यक्षसम्म आएकोले अध्यक्षका लागि आफ्नो दाबी स्वभाविक भएको दाबी गरे। उनले आफूलाई नेता कार्यकर्ताले न्याय गर्नेमा विश्वस्त रहेको बताए ।
यस्तै गिरीपक्षका गोविन्द पहाडीले नेकपा एमाले पर्वत हाँक्नसक्ने व्यक्ति आफु नै भएको दाबी गरे। प्रतिनिधि चयन भएपछि हौसिएका पहाडीले प्रतिष्पर्धा गर्नेगरी आफूले तयारी गरेको बताउँदै आएका छन्।
राजु पौडेललाई अध्यक्ष बनाउने बेला नै १० औ अधिवेशनमा पहाडीलाई नेतृत्व हस्तान्तरण गर्ने भनेर तिमिल्सिनाले बोलेको गिरी पक्षले स्मरण गराएको छ। यस्तोमा तिमिल्सिनाले पछिल्लो समय आफ्नो वचनविपरितको सक्रियता बढाएपछि गिरी पक्ष त्यसको बलियो जवाफ दिने तयारीमा लागेको छ।
अधिवेशनमा भाग लिन ६१ वटै वडा, जिल्ला कार्य समिति, पालिका समिति, जनबर्गिय संगठन गरी तीन सय ८३ जना प्रतिनिधि सहभागी छन् । तर कुश्मा नगरपालिका ११ पकुवाको भने प्रतिनिधि विवादका कारण टुंगो लाग्न सकेको छैन ।
तिमिल्सिना समूहले होटललाई तयारी स्थल बनाएको छ भने गिरी पक्षधरले पार्टी कार्यालय र अधिवेशन स्थलमा बसेर आफ्नो रणनीति बनाइरहेको छ।