काठमाडौं । आँचल शर्मा एक यस्ती नायिका हुन्, करिब आधा दर्जन फिल्ममा काम गरेकी उनी सधैँ चर्चाको अग्रपंतिमा रहने गरेकी छन् । उनले आफ्नो अभिनय यात्राको फिल्म ‘नाई नभन्नु ल ४’ बाट आरम्भ गरेकी हुन् ।
पहिलो फिल्मको सफलतापछि उनले आधा दर्जन फिल्ममा मुख्य नायिकाको भूमिकामा काम गरी सकेकी छन् । जसमा केही फिल्मबाट राम्रो चर्चा पाउन नसके पनि अधिकांश फिल्महरूबाट राम्रै छलाङ मारेकी छन् । आठ वर्षको फिल्मी करियरमा अरू नायिकाको तुलनामा कम फिल्ममा अभिनय गरे पनि उनी सधैँ शीर्ष स्थानमै रहने गरेकी छन् ।
छोटो समयमा नै एकदमै लोकप्रियता कमाउन सफल भएकी आँचलले थुप्रै म्युजिक भिडियो पनि खेलेकी छन् । विवाहपछि त झन् उनीमाथि दर्शकको क्रेज बढ्दो छ । प्रायः अभिनेत्री विवाहपछि हराउँछन् । त्यसैले, फिल्म क्षेत्रमा विवाहपछि अभिनेत्रीहरू पलायन हुन्छन् भन्ने गरिन्छ ।
विवाहित नायिकाको करियर खत्तम हुन्छ भन्नेहरूका लागि उदाहरण बन्दै आएकी आँचल अझ मजवुद देखिन्छन् । उनको सक्रियता भने विवाहअगाडि र पछाडि एकैनास छ । आफ्नो सुन्दरतामा निखार ल्याउनुको साथै बडी पनि निकै मेन्टेन गरेकी उनी बौद्धिक रूपमा निकै मजवुद देखिन्छिन् ।
एकपछि अर्को आशातीत प्रोजेक्टमा जोडिएकी आँचल फिल्म क्षेत्रले रोजेको नायिकामा पर्छिन् । वैशाखमा रिलिज भएको चर्चित फ्रेन्चाइज फिल्म ‘नाईँ नभन्नू ल’को छैटौँ शृङ्खला असफल बनेको थियो । यसको नतिजा उनका लागि अनपेक्षित थियो । फिल्मको बक्स अफिस असफलताले उनलाई खासै फरक पारेको छैन ।
आँचलले आफू अचेल काममा बढी नै गम्भीर भएको पनि बताइन् । उनका अनुसार, अहिले उनलाई काम गर्दा उत्कृष्ट गर्ने रहर झनै जागेको छ । श्रीमान् उदीप श्रेष्ठलाई पर्फेक्ट काम गरेर देखाउन मन लाग्ने आँचलको तर्क छ ।
सधैँ चकलेटी हिरोसँग जोडी बनेर काम गर्दै आएकी आँचल योपटक दयाहाङसँग जोडी बाँधेर आउने भएकी छन् ।
चैत्रको ३० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘डिग्री माइला’मा पहिलोपटक अहिलेका नम्बर वान नायक दयाहाङसँग आँचलको रोमान्स देख्न पाइने छ । पछिल्लो समय नायक दयाहाङ र नायिका मिरुना मगरको जोडीलाई हिट मानिन्छ ।
नेपाली फिल्मका लागि यो ‘फ्रेस जोडी’ हो । यता, ‘डिग्री माइला’को ट्रेलर र गीत हेरेर दर्शकहरूले दयाहाङलाई आँचलसँग अझ खुलेको र थप रोमान्टिक देखिएको दाबी गरेका छन् ।
फिल्म ‘डिग्री माइला’को विषयमा कुरा गर्दै आँचलले दर्शकले मन पराउने विश्वास व्यक्त गरिन् । यस्तैमा उनले दयाहाङलाई अन्य चकलेटी हिरोको तुलनामा अझ रोमान्टिक रहेको बताइन् ।
उनी भन्छिन्, ‘रोमान्स गर्न हात समाउनै पर्ने किस खानै पर्ने म मान्दिन हेरे मात्र पनि रोमान्स हुन सक्छ । परै बसेर पनि नजरले छुन सक्नु रोमान्स हो ।’ यो सब दयाहाङले गर्न सक्ने बताउँदै अन्य नायकको तुलनामा दयाहाङ रोमान्टिक रहेको उनले बताइन् ।
दयाहाङसँग काम गर्दा धेरै कुरा सिक्न पाएको आँचलको अनुभव छ । उनी भन्छिन्, ‘मैले स्क्रिप्टमा रहेका र स्क्रिप्ट बाहिरका धेरै कुराहरू उहाँसँग छलफल गर्न पाएँ । अनुभव र परिपक्वताले उहाँको कुराहरू अर्थपूर्ण हुने गर्छन् । त्यसले गर्दा पनि काम गर्न सजिलो भयो । र, धेरै कुरा सिक्न पाएँ ।’
उनले थप्छिन्, ‘यो फिल्म हेरिसकेपछि दर्शकले मलाई राम्रोसँग याद गर्नु हुन्छ । आँचलले एउटा परिपक्व भूमिका गरेकी रहिछन् भनेर प्रतिक्रिया दिनुहुन्छ जस्तो लाग्छ ।’
फिल्ममा आफू माइला पात्रलाई संयम गराउने चरित्रमा रहेको उनको भनाइ छ । ‘यसमा एकदमै गफाडी पात्र (दयाहाङ राई)लाई संयम गराउने चरित्रमा छु । हरेक व्यक्तिलाई जीवनमा बाटो बिराउँदा संयम गराउन एक जना पात्र चाहिन्छ । चाहे त्यो परिवारभित्र होस् वा पार्टनरमा । ‘डिग्री माइला’मा म त्यो पात्र हुँ । मेरो पात्रले बतासिएको माइलालाई रोक्न प्रयास गरेको छ,’ आँचलले भनिन् ।
उनलाई हरेक चरित्र चुनौतीपूर्ण हुन्छ भन्ने लाग्छ । त्यसमाथि ‘डिग्री माइला’को टिमसँग उनको पहिलो सहकार्य थियो । कसरी काम हुन्छ भन्ने उनलाई थाहा थिएन । आफूले गरेको काम टिमलाई कस्तो लाग्ने हो भन्ने उनलाई डर थियो । राम्रो कलाकारहरूसँग काम गर्दा आफू कहीँ कतै चुकिन्छ कि भन्ने पनि उनलाई लागेको थियो । तर, यस्तै टिमसँग काम गर्दा सिक्न पाइने उनको अनुभव छ ।
कामको कुरा गर्नु पर्दा, आँचलले हालै मात्र फिल्म ‘एक मुठ्ठी बादल’को छायांकन सकेकी छन् । उनी अब ‘वर एण्ड बधू’ छायाङ्कनको तयारीमा छिन् । यसपछि उनी ‘पिताम्बर’ ‘दु:खी आत्मा’, ‘राजमहल’लगायतका फिल्ममा व्यस्त हुने छिन् ।