काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी वैशाख ६ गतेका लागि प्रदेशको अधिवेशन आह्वान गरेका छन् । एमाले र माओवादी केन्द्रका सासंदहरुको मागबमोजिम खापुङले वैशाख ६ गतेका लागि विशेष अधिवेशन आह्वान गरेका हुन् ।
मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका एमाले र माओवादी केन्द्रका ५२ सांसदले विशेष अधिवेशन बोलाउन माग गर्दै निवेदन दिएका थिए ।
एमाले र माओवादी केन्द्रका सांसदहरुले निवेदन दिएकै दिन मुख्यमन्त्री कार्कीले मन्त्रीपरिषद्को निर्णयअनुसार आगामी जेठ ११ गतेका लागि नियमित अधिवेशन बोलाउन सिफारिस गरेका थिए ।
तर, प्रदेश प्रमुख खापुङ्गले कार्की नेतृत्वको मन्त्रीपरिषद्ले गरेको सिफारिसलाई अस्वीकार गर्दै विशेष अधिवेशन आह्वान गरेका हुन् ।
संविधानको धारा १६८ को उपधारा ३ अनुसार अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
मुख्यमन्त्री कार्की संविधानको धारा १६८ (५) बमोजिम नियुक्त भएका थिए । जुन प्रक्रियालाई सरकार गठनको अन्तिम विकल्पको रुपमा पनि हेरिएको छ । तर, एमाले र माओवादी केन्द्रले कार्की नेतृत्वको सरकारलाई विस्थापित गरी वैकल्पिक सरकार गठनका लागि दाबी पेश गरेका छन् ।
तर, अल्पमतमा परेका कार्की राजीनामा पनि नदिने र विश्वासको मत पनि नलिने भन्ने पक्षमा देखिएका छन् । उनले आवश्यक परे संविधानको धारा १६८ को उपधारा ७ बमोजिम प्रदेशसभा विघटन गर्दै मध्यावधि निर्वाचनमा जाने बताउन थालेका छन् ।
वैकल्पिक सरकार गठनका लागि दाबी पेश गर्दै गर्दा दलहरुले विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष माग गरेका थिए । विशेष अधिवेशन बोलाएर विश्वासको मत लिन बाध्य पार्ने र विश्वासको मत नलिएमा स्वतः बर्खास्तीमा पर्ने र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने बुझाइमा दलहरु छन् ।
यद्यपि, कोशीको आगामी कोर्ष कसरी अगाडि बढ्ला भन्ने अन्योलता संवैधानिकरुपमा कायमै देखिन्छ ।
सम्बन्धित समाचार