काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको विषयमा अलग्गै अध्ययन गरेर समस्याको समाधान गर्न सकिने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्षसमेत रहेका लामिछानेमाथि अनुसन्धान गर्नु पर्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा अवरोध गर्दैै आएको छ । विराटनगर पुगेर पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्रीले संसदको गतिरोध समाधान गर्न राजनीतिक तहमा संवाद भएको बताए ।
‘अहिले रवि लामिछानेलाई नै केन्द्रमा राखेर समितिको माग गरिएको छ, त्यो मिल्ने कुरो छैन, मैले सदनमा जवाफ दिँदा अनुसन्धानकर्तादेखि सम्बन्धित निकायका प्रमुख र सम्बन्धित जिल्लाका अधिकारीसँग के हो यो ‘केस’ ? भनेर सोधेको थिएँ,’ उनले भने, ‘उहाँहरूले यस ‘केस’मा रवि जीलाई अनुसन्धान गर्ने ठाउँ छैन भन्नु भयो, सोही आधारमा मैले बोलेको हुँ ।’
प्रधानमन्त्रीले थपे, ‘पहिले हामीसँगै कांग्रेस सरकारमा थियो, त्यतिखेर यो मुद्दा सामान्य थियो, सरकारबाट निस्केपछि रवि जीलाई केन्द्रमा राखेर समितिको माग गरिएको छ, यो राजनीतिक पूर्वाग्रहमा आधारित छ ।’
प्रधानमन्त्रीले पछिल्लो राजनीतिक समीकरण भत्काउन कांग्रेसले प्रयास गरेको दाबी गरे ।