डोल्पाको आगलागीमा परी घाइते भएका तीनै बालबालिकाको निधन-Sutra News

डोल्पाको आगलागीमा परी घाइते भएका तीनै बालबालिकाको निधन

शनिबार, १ बैशाख २०८१

शनिबार, १ बैशाख २०८१

काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ४ स्थित सुँ सामूदायिक वनमा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु भएको छ । गत बिहीबार आगलागी घटनामा परेका तीनै बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए ।



आगलागीबाट गम्भिर घाइते दुई जनाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको उनले बताए । उपचारको क्रममा १२ वर्षीय विवश बुढा र १३ वर्षीय समन्त बुढाको काठमाडौंमा आज निधन भएको प्रजिअ दाहालले बताए ।

आगलागीबाट घाइते १० वर्षीय सुलस बुढाको भने गत शुक्रबार जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा मृत्यु भएको हो । गाउँ नजिकैको वनमा गुच्ची च्याउ टिप्न गएका तीनै बालबालिका आगलागीमा परेर गम्भीर घाइते भएका थिए ।

एकै गाउँका तीन बालबालिकाको आगलागीमा परेर मृत्यु भएपछि सिंगो गाउँ नै शोकमा डुबेको त्रिपुरासुन्दरी ४ का वडाध्यक्ष रञ्जित बुढाले बताए । त्रिपुरासुन्दरीले घाइते दुई बालबालिकालाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं पठाएको थियो ।

उनीहरुको उद्धार गर्ने क्रममा हेलिकप्टर भाडा मात्रै १६ लाख ५० हजार खर्च आएको कर्णाली प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताए । “खर्च बेहोर्नका लागि त्रिपुरासुन्दरी नगरपालिका र कर्णाली प्रदेश सरकारसँग समन्वय भइरहेको छ,” उनले भने ।

यसअघि डोल्पामै गत मंगलबार ठूलीभेरी नगरपालिका ४ स्थित मष्टा सामूदायिक वनमा आगो निभाउने क्रममा तीन सैनिकको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट