काठमाडौं । कोशी प्रदेशमा पहिचानको मुद्दा जबर्जस्त ढंगले स्थापित भइसकेको छ । वैशाख १५ गते हुने उपनिर्वाचनबाट यसलाई संस्थागत गर्ने रणनीति पहिचान पक्षधरहरूको छ । प्रदेश १ को कोशी नामाकरणलाई समेत अस्वीकार गरिरहेका पहिचान पक्षधरहरूले चलाएको अभियानले यो चुनावमा प्रभाव पार्ने निश्चित छ । यो कुरा सबै दलले राम्रोसँग बुझेका छन् ।
जनमत भएका पुराना पार्टीदेखि आफूलाई नयाँ शक्ति भन्ने पार्टीहरूले समेत पहिचान शब्द कण्ठस्थ गर्न थालेका छन । दलहरूको चुनाव प्रचार प्रसार आफूलाई असली पहिचान पक्षधर भएको र यसको विरोधी नभएको कुरा स्थापित गर्न केन्द्रित भएको देखिन्छ । उनीहरु पहिचानको विषय यसरी व्याख्या गरिरहेका छन् कि इलामवासीलाई ‘असली बाजेको पेडा’ भने झै असली छुट्याउन मुस्किल पर्ने अवस्था आएको छ ।
गत बुधवार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पहिचान विरोधी भन्ने आरोपको खण्डन गरे र पहिचानको पक्षमै रहेको सन्देश प्रवाह गर्ने प्रयत्न गरे ।
आफूलाई नयाँशक्ति र अन्य राजनीतिक दलभन्दा फरक रहेको दावी गर्दै आएको र पहिचानको मुद्दा उच्चारणसम्म नगरेको रास्वपा पनि यतिबेला यही मुद्दामा आफ्नो स्पेस खोजिरहेको देखिन्छ । चुनाव प्रचारप्रसारका क्रममा पार्टीका सहप्रवक्ता रमेश प्रसाइँले रास्वपाको पहिचानको मुद्दाप्रति सकारात्मक दृष्टिकोण पुष्टि गर्ने प्रयत्न गरे ।
यता नेपाली कांग्रेसले पनि चुनाव प्रचारका क्रममा पहिचानको मुद्दालाई समाउन खोजेको देखिन्छ । कांग्रेस पहिचानको मुद्दामा गम्भीर छ भन्ने सन्देश दिन खोजिरहेको छ । चुनावी प्रचारप्रसारका लागि इलाम पुगेका पार्टीका महामन्त्री गगन थापाले कांग्रेसले पहिचानको मुद्दालाई सम्हालेर लैजान्छ भन्ने अभिव्यक्ति दिएका थिए ।
यी बाहेक अन्य दलहरूले समेत पहिचानका मुद्दाप्रति आश्वासन दिइरहेको अवस्था छ ।
राजनीतिक दलहरूले मुद्दाहरूको कुरा गर्नु स्वाभाविक र सकारात्मक कुरा पनि हो । जुनसुकै समूह र समुदायले उठाएको मुद्दाहरूको टुंगो लगाउने दायित्व दलहरूकै हो । तर अघिपछि यसबारे सघन छलफल र बहस गरेर निष्कर्षमा पुग्न जाँगर नचलाउने बरु यस्ता मुद्दालाई खिचातानीको विषय बनाउने दलहरूले गरेको प्रतिबद्धताले कहाँ पुर्याउला ? नेपालको राजनीति चुनावदेखि चुनावसम्म भएको छ । विभिन्न मुद्दाहरू दलीय स्वार्थको भुङग्रोमा डढेका छन् ।
राजनीतिक दल र नेताहरूले जनताले चाहेको काम पनि गर्नुपर्छ, देश र जनतालाई प्रतिकुल प्रभाव पार्न सक्ने कतिपय सन्दर्भमा भीडभन्दा विपरित धारमा बहने हिम्मत समेत गर्नुपर्दछ । तर प्रतिनिधिसभाको मात्र एक सिट जित्नका लागि छेपारे रंग फेर्ने दलीय प्रवृत्तिले नेपाली राजनीतिलाई भविष्यमा कतातिर डोर्याउला ?