सर्लाही । घर ढलान गर्न पूजा गरेको धूप सल्किएर सर्लाहीको चक्रघट्ट गाउँपालिका १ शिवनगरमा तीन वटा पसल जलेर पूर्ण रुपमा नष्ट भएको छ ।
आगलागीबाट विन्देश्वर साहले सञ्चालन गरेको दुई वटा पसल जलेको छ । त्यसैगरि मिश्रीलाल ठाकुरको हावा भर्ने पसल पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ ।
साहकै निर्माणाधीन घरमा बालेको धूपबाट सल्किएको आगोले उनकै औषधि पसल र जुत्ता–चप्पल पसलमा आगो लागेको स्थानीयको भनाइ छ । आगोले निर्माणाधीन घरमा क्षति पुगेको छ ।
साहको निर्माणाधीन पक्की घरको दोस्रो तल्लाको छत ढलानको तयारीका लागि पूजा गरिएको थियो । पूजामा धूप बालेर ढलान गर्ने कामदार खाना गएको बेला आगो सल्किएको हो ।
आगलागीबाट भएको क्षतिको विवरण संकलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
स्थानीय, प्रहरी र हरिवन नगरपालिकाको वारुणयन्त्रको सहायताले आगो निभाइएको थियो । समयमै आगो निभाउन सकिएकोले थप क्षति हुन नपाएको स्थानीयको भनाइ छ ।