काठमाडौं । विश्व विजेता टोली वेस्ट इण्डिजका खेलाडीलाई अपमान गरेको भन्दै सामाजिक सञ्जालमा विरोध भएको छ । दुई पटक टी २० विश्वकप विजेता टोली वेस्ट इण्डिज नेपालसँग पाँच खेलको शृङ्खला खेल्न आइपुगेको छ ।
नेपाल आइपुगेको वेस्ट इण्डिजको टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का व्यवस्थापक एवं पूर्व कप्तान विनोद दासलगायत पदाधिकारीले स्वागत गरेका थिए । बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको टोलीको स्वागत बेइज्जतपूर्ण तरिकाले गरिएको भन्दै सामाजिक सञ्जालमा विरोध भएको हो ।
विमानस्थलमा खेलाडीलाई स्वागतको औपचारिकता पूरा गरेपछि खेलाडीहरूको लगेज एउटा मामुली पिकअप भ्यानमा लोड गरिएको थियो । खेलाडीहरूलाई थोत्रो सार्वजनिक गाडीमा राखिएर होटलसम्म लगिएको तस्बीर सार्वजनिक भएको थियो । यस्तो स्वागतले देशकै इज्जतमा धक्का लागेको भन्दै क्यानको आलोचना भएको हो ।
वेस्ट इण्डिजले आफ्नो टोलीमा विश्वकप खेल्ने प्रमुख खेलाडीलाई समेटेर नेपालमा पठाएको छ । शनिबारदेखि त्रिवि किक्रेट मैदानमा पाँच खेलको शृङखला सुरु हुँदैछ ।
वेस्ट इण्डिज ए विरुद्ध राम्रो प्रदर्शन गर्न सके नेपाली खेलाडीका लागि क्यारेबियन प्रिमियर लिग खेल्ने ढोका खुल्नेमा शंका छैन । अहिले नेपाल भ्रमणमा रहेका वेस्ट विण्डिज एका सबै खेलाडी क्यारेबियन प्रिमियर लिगमा नियमित सहभागी हुँदै आइरहेका छन् ।
नेपाली टोलीविरुद्ध खेल्न नेपाल आएका खेलाडीमा ब्याटर जोनसज चार्ल्स, तीव्र गतिका बलर ओवेद म्याककोय, किमो पल, ओसान थोमस, स्पिन अलराउण्डर रोस्टन चेस, गुडाकेश मोती, हेडन वाल्स र फवियन एलेन छन् ।