“तपाईं किन विदेश नगएको ?” भन्ने प्रश्नमा “भिसा नलागेर !” भन्ने ठट्यौली जवाफ केही समय अगाडि निकै चर्चित बन्यो । रमाइलोका लागि बनाइएको त्यो हाँस्यव्यंग्य सामाग्री रमाइलो मात्र नभइकन वर्तमान नेपाली युवाहरूको विदेश जानैपर्ने बाध्यात्मक परिस्थितिमाथि गरिएको तिखो प्रहार थियो ।
सुरुमा भारतका विभिन्न शहरहरूमा ज्याला मजदुरी, कोइलाखानीदेखि लिएर रिक्सा चलाउन पुगेका नेपालीहरू भुटान बर्मा हुँदै अहिले श्रम गर्नकै निमित्त नाम समेत नसुनेका संसारका कयौं देशहरूमा पुगिसकेका छन् । आफ्नो शैक्षिक योग्यता, सीप र लगानी गर्न सक्ने क्षमताअनुसार छिमेकी मित्र राष्ट्र भारतदेखि युरोप अनि अमेरिकासम्म आज हरेक उमेरका नेपालीहरूको गन्तव्य बन्न थालेको छ । देशमा अध्ययन गर्ने र केही व्यापार व्यवसाय अथवा कृषि कार्य गर्नुभन्दा वैदेशिक रोजगारी भरपर्दो माध्यम हुन भन्ने मान्यता स्थापित हुन थालेका छन् ।
नेपालमा व्यवसाय गरे मुनाफा होला नहोला, खेती गरे फसल सोचे जस्तो उब्जाउ होला नहोला तर, वैदेशिक रोजगारीमा जाँदा भित्रिने रेमिट्यान्स जिविकोपार्जनको भरपर्दो आधार भन्ने ठानेर कतिपय युवाहरूलाई घर परिवारसमेत विदेश जान प्रोत्साहन वा दवाव दिने गरेको पाइन्छ । अस्थिर राजनीति, सधैँको बन्द हड्ताल, नयाँ व्यवसाय सुरु गर्न खेप्नु पर्ने सास्ती, सरकारले व्यवसायीलाई दिने सहुलियत र धेरै कानुनी जटिलताले गर्दा नेपालमा राजनैतिक पहुँच नहुनेहरूलाई कुनै पनि नयाँ व्यवसाय सुरु गर्न फलामको चिउरा चपाए झैँ हुने गर्दछ । त्यसलाई सही ढंगले चलाएर अगाडि बढाउन झन् अनेकन झमेला सामना गर्नुपर्ने भएकाले व्यवसाय गर्न सहज वातावरणमा मुलुकमा देखिँदैन ।
नेपालमा व्यवसाय गरे मुनाफा होला नहोला, खेती गरे फसल सोचे जस्तो उब्जाउ होला नहोला तर, वैदेशिक रोजगारीमा जाँदा भित्रिने रेमिट्यान्स जिविकोपार्जनको भरपर्दो आधार भन्ने ठानेर कतिपय युवाहरूलाई घर परिवारसमेत विदेश जान प्रोत्साहन वा दवाव दिने गरेको पाइन्छ ।
शैक्षिक क्षेत्रमा रहेका अनेकन विकृति, पाठ्यक्रम, पढाई सकेपछिको रोजगारको ग्यारेन्टीलगायत पुराना र अव्यवहारिक पाठ्यक्रम, परीक्षापछि नतिजा आउन लाग्ने समयलगायत आफूले प्राप्त गरेको शिक्षा र प्रमाणपत्रको अन्तर्राष्ट्रिय बजारमा दिइने मान्यतालगायतका अन्य प्राविधिक विषयले गर्दा धेरै विधार्थी नेपालको उच्च शिक्षा प्रति विश्वस्त बन्न सकेका देखिँदैनन् ।
समाजमा सरसर्ती हेर्दा, विदेश जानेहरूले आर्थिक उन्नति गरेको देखिने, घर घडेरीलगायत भौतिक प्रगति पनि देखिने भने उनीहरूका परिवारको लवाईखवाई पनि अरुको तुलनामा राम्रो देखिने हुँदा हर कोहीले विदेश जाने विकल्प सहज देख्नु स्वभाविक पनि हो ।
पछिल्लो दुई वर्षको आँकडा हेर्ने हो भने विदेश जानेहरूको संख्यामा ह्वात्तै वृद्धि भएको देखिन्छ भने जसको सामाजिक तथा मनोवैज्ञानिक असर विस्तारै देखा पर्दै जानेछ । सँगै काम गरिरहेको सहपाठी होस् चाहेसँगै अध्ययन गरिरहेको साथी हुन्, सबै विदेश पलायन भइदिँदा नेपालमा बसेर केही गर्छु भन्नेलाई मानसिकरूपमा असर पार्दछ ।
विदेश सोचे जस्तो छैन तर, विदेश आइसकेका जो कोहीले विदेशमा पाएका हन्डर र सास्ती होइन, केवल घुमघाम, मोजमस्ती अनि ठूला–ठूला महल, चिल्ला सडक, रेल तथा समुद्रका तट तिर खिचिएका आकर्षक तस्बिर विभिन्न माध्यमबाट पोस्ट गर्दा त्यो देख्ने हर कोही लोभिनु र आफू पनि त्यस्तै स्वप्नील जिन्दगी जिउन कल्पनामा हराउनु स्वभाविक कुरा पनि हो तर, जुन बाहिर देखिन्छ, विदेशको जिन्दगी वास्तवमा त्योभन्दा धेरै नै फरक हुने गर्दछ ।
नेपाली युवाहरू रहर र महत्वाकांक्षाले भन्दा पनि बाध्यता र सुरक्षित भविष्यको लागि दिनप्रतिदिन विदेश पलायन हुनु अन्तिम विकल्प जस्तै बन्न पुगेको छ ।
कोरोना पछाडि बदलिएको सिङ्गो विश्वको अर्थतन्त्र, बेरोजगारी र महँगाइ जस्ता समस्याले नेपाल जस्ता देशमा गम्भिर असर पर्नु र त्यसको सिधा असर त्यहाँ बसोबास गर्ने आम मानिस र गरिबीको रेखा मुनि रहेका जनसंख्यामा सिधै पर्न गएको देखिन्छ । नेपाली युवाहरू रहर र महत्वाकांक्षाले भन्दा पनि बाध्यता र सुरक्षित भविष्यको लागि दिनप्रतिदिन विदेश पलायन हुनु अन्तिम विकल्प जस्तै बन्न पुगेको छ ।
चाहे रहरले होस्, चाहे बाध्यताले यसरी हरेक उमेरका नागरिक यति ठूलो मात्रामा देशबाट पलायन हुनु आफैँमा दुःखद कुरा हो । देशमा जति सक्दो नयाँ रोजगारी सिर्जना गरेर र अन्तराष्ट्रिय बजारमा समेत बिक्न सक्ने व्यवहारिक शैक्षिक नीति ल्याएर अहिलेको अवस्थाको कहाली लाग्दो युवा पलाएन रोक्नु सरकारको कर्तव्य र चुनौती दुबै हो ।