काठमाडौं । शिक्षक सेवा आयोगले देशभर प्राथमिक तह, तृतीय श्रेणीका लागि चार हजारभन्दा बढी शिक्षकको आवेदन खुलाएको छ ।
आयोगले शनिबार सूचना जारी गर्दै सबै प्रदेशमा खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाति, अपाङ्गता, दलित, पिछडिएको क्षेत्र र तराई–मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी जनजातिलगायत विभिन्न समूहमा गरेर चार हजार ४६२ जना स्थायी शिक्षक माग गरेको हो ।
मागमध्ये बागमती प्रदेशमा सबैभन्दा धेरै एक हजार १०३ जना रहेको छ । यस्तै, कोशीमा एक हजार ७७, गण्डकीमा ८००, मधेशमा ५०८, लुम्बिनीमा ४९५, सुदूरपश्चिममा ३०२ र कर्णालीमा १७७ जनाका लागि आयोगले आवेदन खुलाएको छ ।
योग्यता पुगेका इच्छुकले जेठ १३ गतेसम्म र दोब्बर दस्तुरमा भने जेठ २० गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ ।