काठमाडौं । आम जनता पार्टी र समाजवादी जन एकता पार्टी नेपालबीच पार्टी एकता भएको छ ।
आम जनता पार्टीका अध्यक्ष प्रभु साह र समाजवादी जन एकता पार्टीका संयोजक नारायण श्रेष्ठबीच आज यहाँ आयोजित कार्यक्रममा पाँच बुँदे पार्टी एकतापत्रमा हस्ताक्षर भएको छ ।
दुवै पार्टीबीच भएको एकताको आधारपत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको बुझाइ, जनजीविकाका सवाल तथा शोषित, दमित र उत्पीडित वर्ग एवं समुदायका हकहितको विषयमा सँगसँगै जान सकिने धरातल स्पष्ट रहेको उल्लेख छ ।
नेपालको अग्रगामी आन्दोलनमा गुणात्मक विकासको अपरिहार्यता जस्ता महत्वपूर्ण क्षेत्रमा आधारभूत बुझाइ एवम् दृष्टिकोणमा एकरूपता विद्यमान रहेको निचोडमा पुगेको एकता आधार पत्रमा उल्लेख छ ।
विद्यमान दलीय शासन प्रणाली, दलभित्र ठूला दलको भूमिका र वर्तमान बुझाइमा पनि दुई दलको एउटै दृष्टिकोण रहेको जनाउँदै जनताको शासन कायम गर्न देशभक्त, प्रगतिशील अग्रगामी शक्ति एकजुट भई अगाडि बढ्नु पर्ने निष्कर्षमा पुगेको सहमतिपत्रमा उल्लेख छ ।
सहमति पत्रमा पार्टी एकता पश्चात प्रभु साहको नेतृत्वमा आम जनता पार्टी रहने उल्लेख छ । अग्रगामी सोच–विचारका लोकप्रिय व्यक्ति, समूह, संकठन र शक्तिबीच योजनाबद्ध वार्ता, संवाद र सहकार्यमार्फत निकट भविष्यमा थप वृहद ध्रुवीकरण एवं एकतालाई नयाँ उचाइमा पुर्याउन संकल्पित रहने पनि सहमतिपत्रमार्फत जानकारी दिइएको छ ।