काठमाडौं । गायक तथा कलाकार प्रकाश सपूत केही दिनअघि सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्ममा अनुबन्धित भएका थिए । उनको भूमिकाको बारेमा अहिलेसम्म कुनै जानकारी गराइएको छैन । फिल्मका गीतमा निरन्तर काम गर्दै आएका सपूतले दोस्रो फिल्मका रुपमा ‘पूर्ण बहादुरको सारङ्गी’मा काम गर्ने तयारी गरिरहेका छन् ।
अब ‘पूर्ण बहादुरको सारङ्गी’मा को अभिनेत्री को हुने भन्ने चर्चा छ । सूत्र न्युजले प्रप्त गरेको जानकारी अनुसार प्रकाश सपूत र अभिनत्री केकी अधिकारी पुनः एक साथ देखिने भएका छन्। ‘बरिलै’ बोलको गीतमा काम गरेपछि उनीहरू नजिक छन् ।
प्रकाश र केकीले हाल प्रदर्शन भइरहेको फिल्म ‘बोक्सीको घर’को ‘बुझिन मैले’ बोलको गीतमा समेत सहकार्य गरेका छन् । यी दुई जनाको बोन्डिङ गज्जब हुने भएकाले ‘पूर्ण बहादुरको सारङ्गी’ टिमले उनीहरूको जोडी बाँध्ने तयारी गरिरहेको बुझ्न सकिन्छ ।
स्रोतले दिएको जानकारी अनुसार निर्माता विनोद पौडेलले प्रकाशको जोडी केकीसँग बाँध्ने तयारी गरेका छन् । जसका लागि पौडेलले केकीसँग छटौँ चरण सम्म वार्ता गरेका छन् । तर, निर्माण टिमले नायिका र अन्य कलाकारका बारेमा गोप्य राख्न चाहेका छन् ।
यस विषयमा हामीले निर्माता पौडेललाई सोध्दा केकीसँग कुराकानी भएको स्वीकारे, तर थप जानकारी दिन चाहेनन् । सपूतले गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘परदेशी २’बाट फिल्म क्षेत्रमा पाइला राखेका थिए । सोही फिल्ममा केकी उनको अपोजिट भूमिकामा थिइन् ।
सेभेन सिज सिनेमाज्को प्रस्तुतिमा बन्न लागेको यस फिल्मको लेखन तथा निर्देशक सरोज पौडेल हुन् । निर्माण पक्षले फिल्मलाई विं.सं. २०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ । यसअघि सार्वजनिक गरिएको मोसन पोस्टरबाट फिल्म मौलिक कथा र कलात्मक प्रस्तुति रहने बुझ्न सकिन्छ ।
यस फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहने छ । प्रशान्त सिवाकोटीको संगीत रहेको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ । फिल्ममा रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन् ।