काठमाडौं । २०७९ मंसिरमा भएको आम निर्वाचनसँगै राजावादी शक्तिहरुमा केही उत्साह देखियो । हुन पनि निर्वाचनको परिणामले राजावादी धारको मुख्य शक्ति मानिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई पाँचौ ठूलो शक्तिको रुपमा उदय गराएको थियो । प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ पाँच लाख ८८ हजार मतसहित राप्रपा पाँचौ ठूलो शक्ति बन्यो । कोशीमा समानुपातिकतर्फ तेस्रो शक्ति बनेको राप्रपा अधिकांशमा चौथो मत ल्याउने पार्टी बन्यो ।
जुन निर्वाचनले राप्रपाको पक्षमा ठूलो जनलहर विकास हुँदै गरेको देखायो । जुन निर्वाचनको परिणामपछि नै राजावादी शक्तिलाई थप सक्रिय देखिए । स्वयम् कोठरीमा पसेका पूर्वराजा ज्ञानेन्द्र शाह पनि ‘नागरिक अभिनन्दन’ भन्दै बाहिर निस्किए ।
योबीचमा राजसंस्था पक्षधरको मुख्य शक्ति राप्रपा त शक्ति प्रदर्शनको होडबाजीमा नै देखियो भने अन्य पात्र पनि राजसंस्थावादी बनेर उभिए । गणतन्त्रवादी बनेका कमल थापा लहरलाई समात्दै राजावादी बने भने विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाइँ पनि एमाले छाड्दै राजसंस्थाको असली पक्षपाती बन्न आइपुगे ।
२०७९ को फागुनयता प्रसाइँले हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा लगातार अभियान नै चलाइरहेका छन् । उनले संघीय राजधानीसहित देशका विभिन्न भागमा शक्ति प्रदर्शन गरेका छन् ।
राजसंस्था पक्षधर एकपछि अर्को गरी सलबलाइरहँदा मूल शक्ति मानिएको राप्रपाभित्र पनि थप उत्साह देखिनु स्वभाविक हो । पूर्वराजा शाहसहित अन्यले सडकमा जमात देखाउँदा राप्रपाले निर्णायक आन्दोलन घोषणा गर्यो । यद्यपि, राप्रपाभित्र अहिले सडकमा जाने कि सरकार र संसदमा रहिरहने भन्ने छलफल पनि भइरहेको देखिन्छ । राप्रपाभित्र राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा ठूलो जनमत बृद्धि भएको बुझाई छ । राप्रपाभित्र आन्दोलनबाट राजसंस्था फर्काउन सकिने बुझाइ व्याप्त देखिन्छ ।
तर, सतहमा देखिएजस्तै लहर राजसंस्थाको पक्षमा नभएको पुष्टि निर्वाचनका परिणामले दिएका छन् । २०७९ को आमनिर्वाचनपछि भएका दुई वटा उपनिर्वाचनका परिणामलाई हेर्दा, जनताले राजसंस्थावादीलाई पूर्ण अस्वीकार गरेका छन् । जनताले उनीहरुका एजेन्डालाई ‘रातो झण्डा’ देखाइदिएका छन् ।
२०८० मा प्रतिनिधिसभाअन्तर्गतका तीन क्षेत्रको लागि भएको उपनिर्वाचनमा राजावादी राप्रपाका उम्मेदवारले कतै जमानत जोगाउन सकेनन् । बारा–२, चितवन–२ र तनहुँ–१ मा राप्रपासहित राजावादीको पक्षले एक प्रतिशत पनि मत पाउन सकेनन् ।
जसपाका उपेन्द्र यादवले २८ हजार ४१५ मत ल्याएर विजयी भएको बारा–२ मा राप्रपाले ११९, रास्वपाका रवि लामिछानेले ५४ हजार १७६ मत ल्याएर विजयी भएको चितवन–२ मा राप्रपाले ३७५ र रास्वपाकै स्वर्णिम वाग्लेले ३४ हजार ९१९ मत ल्याउँदै विजयी भएको तनहुँ–१ मा राप्रपाले २१८ मत ल्याएको थियो ।
त्यसयता, हालै वैशाख १५ मा भएको प्रतिनिधिसभाअन्तर्गतको इलाम–२ र प्रदेशसभाअन्तर्गतको बझाङ–१(१)मा राप्रपाको हालत २०८०को उपनिर्वाचनभन्दा झनै खस्किएको देखिन्छ । इलाम–२ मा एमालेका सुहाङ नेम्वाङले २७ हजार ७७२ मत ल्याएर विजयी हुँदा राप्रपाका उम्मेदवारले जम्मा ४०४ मत ल्याए । यस्तै, प्रदेशसभाअन्तर्गतको बझाङ–१(१)मा एमालेकै दमनबहादुर भण्डारीले ११ हजार ६१३ मत ल्याउँदै विजयी हुँदा राप्रपाका उम्मेदवार जम्मा २४२ मत पाए । दुवै निर्वाचन क्षेत्रको परिणाममा राप्रपाले एक प्रतिशत पनि मत पाएको देखिन्न ।
राजावादी निर्णायक आन्दोलन भन्दै सडकमा निस्किरहँदा उपनिर्वाचनले भने राजसंस्था पक्षधरको पक्षमा एक प्रतिशत पनि जनमत नरहेको स्पष्ट पारेको छ । जसले राजसंस्थाको एजेन्डा बेतुकको छ भन्ने प्रष्ट्याएको छ । निर्वाचनको परिणामले राजावादीलाई व्यर्थको एजेन्डा छाड्न सुझाएको छ भन्दा अतियुक्ति हुन्न ।