काठमाडौं । तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च धान्ने एउटै माध्यम थियो, सालको पात ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ४ खाल्लेस्थित डाँडाखर्ककी ४२ वर्षीया नरकुमारीले सालको पात बेचेरै पाँच वर्षदेखि जीविका चलाउँदै आएकी थिइन ।
उनलाई आफ्नो जमिनमा फलेको अन्नले छ महिना खान पुग्दैन । धेरै वर्षदेखि सालको पात टिप्ने गरेको देउले, भालासिरुवानी, दियाले चउर तथा चन्द्रमान राई सामूदायिक वनमा डढेलो लागेपछि उनी चिन्तित बनेकी छन् ।
नरकुमारीको ११ वर्षीया छोरी भावना कक्षा सात, आठ वर्षका छोरा सोनाम कक्षा पाँच र पाँच वर्षीया छोरा विवेक कक्षा दुईमा पढ्छन् । भावना र सोनाम सोही नगरपालिका ५ लफ्याङस्थित श्री माध्यमिक विद्यालय बाँसबोटे र विवेक खाल्लेकै डाँडाखर्कस्थित राष्ट्रिय प्रजातन्त्र आधारभूत विद्यालयमा अध्ययनरत छन् ।
पाँच वर्षदेखि सालको पात टिप्दै आएको जंगलमा डढेलो लागेपछि दैनिक गुजाराको माध्यम तत्कालका लागि आगोले सखाप पारेको नरकुमारीले बताउँछिन् ।
“एक दिनमा २० मुठासम्म सालको पात टिपिन्थ्यो, दिक्तेल बजारमा सालको पात प्रतिमुठा ५० मा बिक्री हुन्छ, अहिले डढेलोले जंगल सखाप पार्यो,” उनले भनिन्, “सालको पातले दैनिक घर खर्च र छोराछोरीको पढाइ खर्च धान्ने गरेकी थिएँ, डढेलोले जंगल सखाप भएपछि कसरी घर खर्च जुटाउने भन्ने चिन्ता छ, गरिबलाई प्रकृतिले पनि ठग्दो रहेछ ।”
त्यसो त रावाबेँसी गाउँपालिका ३ लामीडाँडास्थित तिर्पाबाट १३ वर्षअघि विवाह गरेर खाल्ले आएकी नरकुमारीको परिवारमा एकपछि अर्को समस्यामा पर्दै आएको छ । कान्छा छोरा विवेक जन्मिँदै मुटु रोगी जन्मिए । उनी अहिले पनि बिरामी छन् ।
छोरालाई ग्रिनसिटी अस्पताल काठमाडौं भर्ना गरिएको थियो । उपचारमा अस्पतालले सात लाख ५० हजार लियो । “जन्मिएको दुई दिनमा दुई सय लिएर जिल्ला अस्पताल लगेकी थिएँ, अस्पतालले यहाँ ठीक हुँदैन भनेपछि ५० हजारमा नन्दको सुन धितो राखेर काठमाडौं लग्यौँ, उपचारमा १६ लाख सकियो,” उनले थपिन्, “काठमाडौंको तीन÷चार वटा अस्पताल डुलाउँदा १६ लाख सकियो, घरमा एक रुपैयाँ थिएन, सबै ऋण काढेर उपचार गर्यौँ, छोरा अलि ठीक भएपछि घर फर्कायौँ ।”
छोराको उपचारमा खर्च भएको ऋण तिर्न नसकेपछि साहुले घरको पशुचौपाय लग्यो । ऋण तिर्न विदेश गएका श्रीमान् दुर्घटनामा परी उतै घाइते भए । घरमूली नै विदेशमा घाइते भएपछि परिवारको बिल्लीबाठ भएको छ ।
नरकुमारीको श्रीमान् दानबहादुर खत्री पाँच वर्षदेखि साउदी अरबस्थित एउटा घरको कोठामा अशक्त अवस्थामा छन् । काम खोज्दै अरब पुगेका दानबहादुर सात महिना नबित्दै लडेर घाइते भए ।
काम गर्ने क्रममा लडेर ढाड भाँचिएपछि साउदी अरबमै उपचाररत उनको स्वास्थ्यमा सामान्य सुधार आएको बताइएको छ । तीन वर्षसम्म अस्पताल बसेर उपचार गराएका उनले अहिले सामान्य हिँड्डुल गर्न सक्ने भएको फोनमा कुराकानी हुँदा बताउने गरेको नरकुमारीको भनाइ छ ।
छोराछोरीको पठनपाठन कसरी गराउने भन्ने चिन्ताले उनलाई रातभर निन्द्रा लाग्दैन । कसैले सहयोग गरे पढाउन सकिन्थ्यो कि भन्ने आशा छ ।