काठमाडौं । हालै सम्पन्न उपनिर्वाचन नेकपा (एमाले)का लागि मात्रै फलिफाप बन्यो । इलाम–२ र बझाङ–१(१)को प्रदेशसभा निर्वाचनमा एमालेका उम्मेदवार विजयी हुँदा ठूलो दल नेपाली कांग्रेसले विगतको अवस्था पनि जोगाउन सकेन ।
२०७९ को आम निर्वाचन एमालेले इलाम–२ बाट कांग्रेसलाई झिनो मतले पराजित गर्दै जित हात पारेको थियो । एमालेका तत्कालीन उम्मेदवार सुवास नेम्बाङले कांग्रेसका डम्बर खड्कालाई जम्मा १४४ मतान्तरले पराजित गरेको यस क्षेत्रको उपनिर्वाचनमा कांग्रेस करिब ६ हजार मतले पराजित बन्न पुग्यो ।
पुराना दललाई चुनौती दिएर पहिलो निर्वाचनमा चौथौँ शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले इलाम २ मा आफ्नो जमानत जोगाउन सकेन । यो उपनिर्वाचनले प्रतिनिधिसभा सदस्यको संख्यामा एमालेलाई कुनै फरक नपारे पनि ठूलो अर्थ राखेको छ ।
यता, बझाङको उपनिर्वाचनसँगै सुदूरपश्चिम प्रदेशसभामा एमालेको एक जना सांसद थपिएका छन् । ०७९ को निर्वाचनमा पराजित भएको यस क्षेत्रमा एमालेका उम्मेदवार विजयी हुँदा कांग्रेसले एक सांसद गुमाउन पुगेको छ ।
गत वर्ष वैशाख १५ मा सम्पन्न तीन प्रतिनिधिसभाको निर्वाचनमध्ये रास्वपाले दुई क्षेत्रमा जित हात पारेको थियो । एक स्थानमा तत्कालीन सत्ता गठबन्धन कांग्रेस–माओवादीसहित पाँच दलबाट बनेका साझा उम्मेदवार विजयी भएका थिए ।
पहिलो उपनिर्वाचनको एक वर्षपछि सम्पन्न दोस्रो उपनिर्वाचनमा एमालेले एकलौटी जित हात पारेको छ । मिसन ०८४ भन्दै दलहरु चुनावी अभियानमा होमिए पनि ०८१ कै उपनिर्वाचनमा एमालेले सफलता हात पारेको हो ।
एमालेले गत मंसिर १४ गतेदेखि सुरु गरेको पूर्व–पश्चिम यात्रा १७ दिनमा सम्पन्न भएको थियो । बैतडीबाट सुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ पाँचथरको फिदिममा पुगेर सम्पन्न भएको थियो ।
यस यात्रामा एमाले अध्यक्ष केपी शर्मा ओली हरेक सभालाई सम्बोधन गर्न पुगेका थिए । सम्बोधनका क्रममा उनले एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ संकल्प लिएको बताउँदै ०८४ को निर्वाचनमा बहुमत दिन आग्रह गरेका थिए ।
अध्यक्ष ओलीले आगामी आम निर्वाचन बहुमत दिन आग्रह गरे पनि जनताले उपनिर्वाचनमै ‘क्लीन स्वीप’ गर्ने गरी एमालेका उम्मेदवारलाई विजयी गराइदिए । आम निर्वाचन आउन साढे तीन वर्ष बाँकी रहेको अवस्था एमालेले आफ्नो जनमतलाई टिकाउन कठिन छ । यता, ऐतिहासिक पार्टी कांग्रेससहित नयाँ दलहरुसँग कसरी प्रतिस्पर्धा गर्छ ? हेर्न बाँकी छ ।