गठबन्धनभित्र उकुसमुकुस माधव : नछाडौं मान छैन, छाडौं बाटो छैन-Sutra News

गठबन्धनभित्र उकुसमुकुस माधव : नछाडौं मान छैन, छाडौं बाटो छैन

बुधबार, १९ बैशाख २०८१

बुधबार, १९ बैशाख २०८१

काठमाडौं । फागुन २९ मा भएको ७ बुँदे सहमतिपछि नेकपा (एकीकृत समाजवादी) औपचारिकरुपमा सरकारमा प्रवेश गरेको थियो । तत्कालिन समय एकीकृत समाजवादीलाई नै सरकारमा समेट्न दलहरुले फागुन २१ मा भएको ८ बुँदे सहमतिलाई संशोधन गरेका थिए । जुन एकीकृत समाजवादीको मागअनुसार भएको थियो ।



सुरुमै आफ्ना मागहरु सम्बोधन गराएर सरकारमा प्रवेश गरेको एकीकृत समाजवादी सरकारमा पुगेसँगै भने निकै असन्तुष्ट देखिन्छ । एकीकृत समाजवादीले एकपछि अर्को गर्दै सत्ता साझेदारसँगको असन्तुष्टि बाहिर व्यक्त गरिरहेको छ ।

एकीकृत समाजवादीले कहिले संघीय सरकार छाड्छु भन्दै धम्काइरहेको देखिन्छ कहिले प्रदेश सरकार ढाल्ने चुनौति दिइरहेको पाइन्छ । अहिले बागमति र लुम्बिनी प्रदेश सरकारभित्र एकीकृत समाजवादीकै कारण रडाको छ ।

एकीकृत समाजवादी किन असन्तुष्ट छ ? उसका कस्ता माग पूरा भएका छैनन् ?

बुधबार पार्टीको चितवन अधिवेशनलाई उद्घाटन गर्ने क्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो मुख्य समय नै सत्ता साझेदारविरुद्ध खर्चिन प्रयोग गरे । उनले सत्ता साझेदारसँगको असन्तुष्टि पोखिरहे । उनको बैचनीसहित गुनासो छ, “नभने मनमा चैन छैन, भन्दा पत्रिकाले छापिहाल्छ !”

अध्यक्ष नेपालले आफ्नो सम्बोधनका क्रममा सरकारमा संविधान कुल्चिने, जनतालाई ठग्ने प्रवृत्ति हाबी भएको गुनासो गरेका छन् । उनले सरकारकै कारण भ्रष्टाचार मौलाएको बताएका छन् । उनको चिन्ता छ, “सरकार सुध्रिने भएन !”

तर, के अध्यक्ष नेपालले भने जस्तै समस्या बढेको कारण सत्ता साझेदारप्रति उनको गुनासो बढेको हो ? वामपन्थी राजनीतिक विश्लेषक कदापि त्यस्तो नभएको बताउँछन् ।

वामपन्थी विश्लेषक मुकुन्द आचार्य अध्यक्ष सत्ता साझेदारभित्र पावर सेयरिङको विषयमा भएका मौखिक सहमति पालना नहुँदा अध्यक्ष नेपालमा असन्तुष्टि चुलिएको बताउँछन् । भ्रष्टाचार बढेर वा अन्य कारणले उनी असन्तुष्ट नभएको उनले बताए ।

“भ्रष्टाचार, अनियमिता बढ्यो भनेर माधव नेपाल असन्तुष्ट भए भन्ने विषय व्यर्थ हो, यदि उनले मागेअनुसारको पावर शेयरिङमा हिस्सा दिने हो भने भोलि नै सरकार ठिक, प्रचण्ड सरकार ऐतिहासिक भन्न बेर लाउँदैनन्”, उनले भनेका छन्, “यो व्यर्थको दन्तबझान हो, यो उपायबिहीनताको अवस्था हो ।”

अहिले एकीकृत समाजवादीभित्रै सरकारलाई लिएर दुई धार छ । दुई धार विकास भएसँगै सरकार छाड्ने अवस्था पार्टीभित्र छैन । अर्कोतर्फ सम्मानित नेता झलनाथ खनालले प्रष्टरुपमा अध्यक्ष नेपालको इच्छाको पछि लागेर पार्टीले गठबन्धन नछाड्ने बताइसकेका छन् । उनको चुनौतिपूर्ण भाषापछि अध्यक्ष नेपालमा थप बैचनी पलाएको देखिन्छ ।

एकातिर गठबन्धनभित्र रहीरहने अवस्थामा उनी छैनन् भने अर्कोतिर नरहने उपाय पनि उनको देखिन्न । विश्लेषक आचार्य, अध्यक्ष नेपालको असन्तुष्टि सम्बोधन हुने अवस्थामा नरहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट