काठमाडौं । यो साता लागेसँगै शेयर बजार लगातार उकालोमा थियो । निरन्तर बृद्धिका बीच बजार १९ सयको बिन्दुबाट दुई हजारको बिन्दुमा उक्लिएको थियो । लगातार तीन कारोबार दिनको बीचमा शेयर बजारमा ४१ अंकको बृद्धि भएको थियो ।
तर, साताको अन्तिम कारोबार दिन बिहीबार भने शेयर बजार घटेर बन्द भएको छ । बिहीबार ७.३१ अंकले घट्दै बजार पुनः दुई हजारको बिन्दुबाट तल ओर्लिएको छ ।
नयाँ सातासँगै बजारले समातेको सकारात्मक लय पनि बिहीबारको कारोबारसँगै तोडिएको छ ।
बिहीबार एकल अंकले घटेपनि लघुवित्त र व्यापारबाहेकका सबै उपसूचक राताम्मे बने । कारोबार आएका २४४ कम्पनीमध्ये १६१ कम्पनीको मूल्य घटे ।
बजारमा गिरावट आएसँगै बिहीबार अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकममा पनि सुस्तता छायो । मंगलबार ४ अर्ब ७८ करोड बढीको कारोबार हुँदा बिहीबार ४ अर्ब ७ करोडमै सीमित बन्यो ।
लगातार सकारात्मक लय समातेको बजारले अन्तिम कारोबार दिन नकारात्मक लय समात्दा लगानीकर्तामा छाएको आशा फेरि हराएको छ । अन्तिम कारोबार दिन ओरालो लागेसँगै आगामी साता कस्तो होला भन्ने थप अन्योलता छाएको छ । लगानीकर्तामा फेरि नयाँ साताबाट घट्ने त होइन भन्ने त्रास पनि देखिएको छ ।