सरोकारवालाको चिन्ता : वैदेशिक विवाह गरेकाहरूको नैसर्गिक अधिकार हनन भयो-Sutra News

सरोकारवालाको चिन्ता : वैदेशिक विवाह गरेकाहरूको नैसर्गिक अधिकार हनन भयो

बिहिबार, २७ बैशाख २०८१

बिहिबार, २७ बैशाख २०८१

काठमाडौं । फ्यामिली राइटस् नेपालले अस्पष्ट र अपर्याप्त कानुनका कारण वैदेशिक विवाह गरेकाहरुको नैसर्गिक हकअधिकार हनन भएको बताएको छ ।



बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै फ्यामिली राइटस् नेपालले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएका विदेशी नागरिक तथा उनीहरूका बालबालिकाले नेपालमा आवासीय अनुमति नपाएका कारण पारिवारिक मिलन, रोजगारी, शिक्षा, बसोबास, आवागमनलगायतका नैसर्गिक हकअधिकारबाट वञ्चित रहनुपर्ने अवस्था भएकाे बताएकाे हाे ।

नेपालको विद्यमान कानुनी व्यवस्थामा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएका महिला, पुरुष र तिनबाट जन्मेका बालबालिकाका सम्बन्धमा विविध कानुनी र नीतिगत अस्पष्टताका कारण यो अवस्था सिर्जना भएको फ्यामिली राइटस् निष्कर्ष छ ।

विदेशी नागरिकसँग विवाहित नेपाली नागरिकका श्रीमान्, श्रीमती र छोराछोरीका लागि आवासीय अनुमतिको प्रणाली लागू गर्न माग फ्यामिली राइटस्काे छ ।

फ्यामिली राइट्स नेपालका अध्यक्ष डा. मनिष ओलीले संस्थाको उद्देश्य नेपालमा विवाह गरेर बसेका र म्यारिज भिसामा रहेका विदेशी नागरिक र उनीहरुका परिवारहरुको अधिकार र न्यायको पक्षमा काम गर्नु रहेको बताए । सरकार मौन रहँदा र यस्ता विषयमा कानुनी अस्पष्ट हुँदा हजारौं नेपाली नागरिक, उनीहरूका परिवार र बालबालिका प्रभावित भइरहेका उनको भनाइ छ ।

फ्यामिली राइट्स नेपालकी महासचिव कर्मा तामाङले संविधानले कानुनका दृष्टिमा सबै नागरिक समान भनेपनि वैदेशिक विवाह गरेकाहरुको हकमा फरक व्यवहार गरिएको बताइन । ‘संविधानको धारा १८ (१) मा हेर्नुहुन्छ भने सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन् भनेर लेखिएको छ । तर, यहाँ समान व्यवहार भएको छैन । विदेशी परिवारहरुलाई पर्यटकको रुपमा व्यवहार गरिएको छ,’– उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार