काठमाडौं । गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेले सरकारी ठगीमा नाम जोडिएका जीबी राईलाई यसअघिकै सरकारले भगाएको बताएका छन् ।
चितवनमा शनिबार पत्रकारसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले सरकारले नै भगाएको मान्छेलाई खोज्न समय लाग्ने बताए ।
जीबी राई किन पक्राउ पर्न सकेनन् ? भन्ने प्रश्नमा उनले प्रतिप्रश्नसहित जवाफ दिए, ‘ नियन्त्रणमा लिन प्रयास भइरहेको छ, तर यत्रा समस्या आउँदाआउँदै भगाएको चाहिँ किन ? भन्ने प्रश्न सोध्न सकिन्छ नि ।’
पत्रकारले कसले भगाएको हो त भन्ने प्रश्न गर्दा उनले जवाफ दिए, ‘भाग्दा खेरी सरकारमा को थियो ? ‘
गृहमन्त्री लामिछानेले जीबीका सन्दर्भमा केही प्रक्रिया पूरा गर्नु पर्ने बाध्यता भएको बताए । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी र पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा जीबी राई मुछिएका छन् । त्यस क्रममा गृहमन्त्री लामिछानेको नाम पनि जोडिएको छ ।