काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि प्रश्न उठेको बताएका छन् ।
चितवन पुगेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका आरोपित जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोपको जवाफ प्रधानमन्त्रीले दिनु पर्ने उनको भनाइ थियो ।
शनिबार चितवनमा गृहमन्त्री लामिछानेले जीबी राईलाई अघिल्लो सरकारले भगाएको अभिव्यक्ति दिएका थिए । आजै बसेको कांग्रेस संसदीय दलको बैठकपछि पत्रकारसँग कुरा गर्दै थापाले गृहमन्त्रीले दिएको अभिव्यक्तिको जवाफ प्रधानमन्त्रीले दिनु पर्ने बताएका हुन् ।
‘गृहमन्त्रीले नै यसअघिको सरकारले जीबी राईलाई भगाएको आरोप लगाउनु भएको छ, योभन्दा अगाडि प्रचण्डकै नेतृत्वमा सरकार थियो’ उनले भने ।
कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको तथ्य र प्रमाण खोज्न कही जानु नपर्ने बताए ।
‘प्रमाण खोज्न कही जान पर्दैन, सरकारी अड्डामा गएर तथ्य केलाए हुन्छ, यही तथ्य प्रमाणका आधारमा प्रमाणित हुन्छ, यसलाई संसदीय समितिबाट आधारहीन छन् भनेर प्रमाणित गर्न चुनौती दिन्छौँ, तपाईंहरूकै बहुमत छ गलत हुन भनेर सावित गर्न चुनौती छ’, थापाले थपे ।
सहकारी ठगीमा गृहमन्त्री लामिछानेको प्रमाण खोज्न सरकारी अड्डा अदालतमा गए हुने बताए ।