काठमाडौं । संखुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ ।
आरोहण गरी फर्किने क्रममा पर्वतारोही सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका ४ का ५४ वर्षीय ल्हाक्पा तेञ्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए ।
मकालु हिमाल आरोहण गरी फर्कने क्रममा मकालु गाउँपालिका २ र ३ को सिमानामा बेपत्ता भएका शेर्पाको शव शुक्रबार दिउँसो मकालु आधार शिविरमा फेला परेको हो ।
घटना स्थलबाट शेर्पाको शव मुचुल्कापश्चात् सोलुखुम्बु लगिएको उनको भनाइ छ । यातायात र सञ्चार सेवा नभएका कारण मकालु क्षेत्र भौगोलिक रुपमा विकट मानिन्छ ।
घटना स्थल सदरमुकाम खाँदबारीदेखि पाँच दिनको पैदल दूरीमा पर्दछ । पर्वतारोही शेर्पाको शव मुचुल्कापछि आजै सोलुखुम्बु लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।