रविको भूमरीमा संसद : खेलाची गर्दै सरकार-आक्रमक बन्दै प्रतिपक्षी-Sutra News

रविको भूमरीमा संसद : खेलाची गर्दै सरकार-आक्रमक बन्दै प्रतिपक्षी

शनिबार, २९ बैशाख २०८१

शनिबार, २९ बैशाख २०८१

काठमाडौ‌ं । संसदको बजेट अधिवेशन शुक्रबारदेखि शुरु भए पनि सहज रुपमा चल्ने संकेत देखिएन ।



संसद अधिवेशनको पहिलो दिन राष्ट्र्रियसभा र प्रतिनिधिसभा दुवै सदन अवरुद्ध भयो । पुनः बैठक सुरु हुन सकेन । बैठक बस्न नसकेपछि आगामी जेठ १ गते बस्ने गरी स्थगित भएको थियो । अबको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

पहिलो दिन दुवै सदनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमा प्रमाण देखिएको भन्दै संसदीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने अडान लियो ।

दुई पटक बसेको प्रतिनिधिसभामा कांग्रेसले नाराबाजी गरेको थियो । कांग्रेसको अवरोधका बीच सभामुख देवराज घिमिरेले बैठक सञ्चालन गर्न खोजेपछि कांग्रेसले बेल घेराउ गर्दै नारबाजी गरेको हो ।

दोस्रो बैठकमा सभामुखले बैठक शुरु हुनासाथ गृहमन्त्री लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेसका सांसद थप आक्रमक बनेका थिए । उनीहरुले गृहमन्त्रीलाई रोष्टममै जानबाट रोकेपछि उनले सम्बोधन गर्न पाएनन् ।

बजेट अधिवेशनको पहिलो बैठकमा नै सरकार र समाभुखले प्रतिपक्षी दललाई पेलेरै जाने तयारी गरेको देखियो । यता कांग्रेस आफ्नो अडानबाट बिचल्लित भएको छैन । जस्तोसुकै परिस्थितिमा आफ्नो माग राख्न कांग्रेस पछि नपर्ने भएको छ ।

सरकारसँग कांग्रेसको माग बमोजिम संसदीय समिति गठन गर्ने विकल्प देखिदैन । किनकी संसदीय समिति गठन गरेमा गृहमन्त्री लामिछानेले सरकार छोड्ने चेतावनी दिँदै आएका छन् ।

उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार छाडे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अल्पमतमा पर्ने हुनाले सरकारले संसदीय समिति गठन गर्ने सम्भावना तत्कालका लागि देखिदैन ।

अर्कोतर्फ कांग्रेसले यो विषयलाई अब यतिकै नछोड्ने मुडमा देखिएको छ । अघिल्लो संसद अधिवेशनमा सफ्ट भएको कांग्रेसले यस अधिवेशनको पहिलो दिन आक्रमक बनेको छ । कांग्रेसको भनाइमा संसदीय समिति गठन नभएसम्म संसद चलन नदिने स्पष्ट गरको छ ।

शुक्रबारको बैठकमा महामन्त्री गगन थापाले अब संसदीय समिति गठन नभएसम्म संसदको काम कारवाहीमा सहयोग नगर्ने घोषणा गरेका थिए । साथै उनले गृहमन्त्री लामिछानेले आफैले निवेदन दिएर ऋण लिएको प्रमाण रहेको भन्दै एक अर्बभन्दा बढी ठगी भएको संसदमा बताएका थिए ।

गगन थापाको दाबीलाई गृहमन्त्रीले संसद बाहिर पत्रकारसँग कुरा गर्दै चुनौती दिए । उनले गगनलाई सीधै चुनौती दिँदै आफूले निवेदन लिएर ऋण लिएको प्रमाण दिए राजनीति छोडिदिने बताए ।

समग्रमा संसदको बजेट अधिवेशनको पहिलो दिनले राम्रो संकेत गरेको छैन । सरकारले जबर्जस्ती गरेर अगाडि बढ्ने र प्रतिपक्ष आफ्नो अडानमा कायम रहने संकेत पहिलो दिनको संसद बैठकले गरेको छ ।

यता, शनिबार चितवन पुगेर गृहमन्त्री लामिछानेले जीबी राईलाई अघिल्लो सरकारले भगाएको बताएका थिए । पत्रकारसँगको कुराकानीमा उनले अघिल्लो सरकार अर्थात अहिलेकै प्रधानमन्त्री नेतृत्वको सरकारले जीबी राईलाई भगाएको दाबी गरेका हुन् ।

गृहमन्त्री लामिछानेको अभिव्यक्तिपछि प्रधानमन्त्री थप सकसमा परेका छन् । शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकपछि पत्रकारसँग कुरा गर्दै महामन्त्री गगन थापाले गृहमन्त्रीले दिएको अभिव्यक्तिको जवाफ प्रधानमन्त्रीले दिनु पर्ने बताए ।

‘गृहमन्त्रीले नै यसअघिको सरकारले जीबी राईलाई भगाएको आरोप लगाउनु भएको छ, योभन्दा अगाडि प्रचण्डकै नेतृत्वमा सरकार थियो’ महामन्त्री थापाले भने ।

सत्ता पक्ष र विपक्ष एकपछि अर्को दुरी बढ्दै जाँदा आगामी संसद बैठक कसरी अगाडि बढ्ने भन्ने अन्यौल देखिएको छ । जसको प्रभाव जेठ १५ गते पेश गर्नै पर्ने बजेट भाषण प्रभावित हुने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट