काठमाडौं । फिल्म ‘महाजात्रा’ले प्रदर्शनको आठौँ सातामा प्रवेश गर्दै ५१ औँ दिन पुरा गरेको छ ।
गत चैत ९ गतेबाट प्रदर्शनमा आएको प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मले शनिबार काठमाडौँ उपत्यकाका १२ र मोफसलमा १ गरी तेह्र हलमा ५१ औँ दिनको यात्रा पार गरेको छ ।
विदेशी बजारमा समेत सर्वाधिक कमाइको रेकर्ड राखेको फिल्मले क्यूएफएक्सका विभिन्न चेन, आइएनआई सिनेमाज्, एफक्यूब सिनेमाज्, वान सिनेमाज्, बीएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज्, सिनेडी सेफ र नेपालगञ्जको रोयल सिनेमाज्मा हलहरुमा ५१ दिन पुरा गरेको हो ।
फिल्मले ५१ औँ दिन मनाइरहँदा निर्माण टिमले सेलिब्रेशन कार्यक्रमको आयोजना समेत गरेको थियो । षट्कोण आर्ट्सद्वारा ५१ औं दिनको अवसर आयोजित कार्यक्रममा अभिनेता हरिवंश आचार्यसँगै रवीन्द्र झा, शिशिर वाङ्ग्देल, दिव्य देव, अरविन खड्का एसोसियट निर्देशक जेवी रुवाली, प्रोडक्सन म्यानेजर रुपकप्रताप अधिकारी लगायत सहभागी थिए ।
फिल्मका मुख्य कलाकार विपिन कार्की र वर्षा राउत एक फिल्मको छायांकनको लागि अमेरिका रहेको र निर्देशक प्रदीप भट्टराई, कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ र निर्माता म्याक्स दीपेश खत्री भारतमा रहेकाले कार्यक्रममा सहभागी हुन् सकेनन् ।
कार्यक्रममा आचार्यले नेपाली फिल्मलाई दर्शकको माया मिल्न थालेको भन्दै आभार व्यक्त गरे । उनले भने, ‘दर्शकले नै फिल्म राम्रो छ भनेपछि प्राप्त प्रतिक्रियाले यो सफलता पाएका छौँ । दर्शकलाई जती धन्यवाद दिएपनि कम हुन्छ, अहिले नेपाली फिल्मलाई दर्शकले साथ दिईरहेका छन् । प्रदर्शन भएका फिल्मले घरेलु बजार र विदेशी बजारमा राम्रो व्यापार गरिरहेको छ । यसले यो वर्ष नेपाली फिल्मका लागि सुखद हुने देखिएको छ ।’
यस अघिका शृङ्खला ‘जात्रा र जात्रै जात्रा’ले पनि ५१ दिन पार गरेका थिए । निर्माता खत्रीले नेपालमा फिल्मले सोह्र करोड आठ लाख रुपैयाँको ग्रस कलेक्सन गर्न सफल भएको जानकारी दिए ।
‘हामीलाई यो सफलताले अझैँ दायित्व बोध भएको छ । आगामी दिनमा दर्शकको भरोषालाई बढाउने र विश्वास टुट्न नदिने गरी काम गर्ने छौँ । हामीले नयाँ फिल्म विसं २०८२ को दसैँमा ल्याउने छौं’, निर्माता खत्रीले भने ।
फिल्मले विदेशी बजारबाट पनि १० करोड माथिको कमाई गरेको निर्माताको भनाई छ ।
यता, निर्देशक भट्टराईले निर्देशन गरेका पाँचैवटा फिल्मले ५१ दिनको रेकर्ड समेत राखेका छन् । षट्कोण आर्ट्सले विसं २०८२ को दसैँमा नयाँ फिल्म दर्शक माँझ ल्याउने घोषणा समेत गरेको छ ।