काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी प्रकरणलाई लिएर कांग्रेसले सदनमा अवरोध गरिरहेको बेला प्रधानमन्त्रीले शीर्ष नेताहरुलाई बोलाएर छलफल गरेका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवासहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक र कृष्णप्रसाद सिटौला छन् । उनका अनुसार संसद अवरोध कसरी हटाउने भन्ने कोणबाट छलफल गर्न प्रधानमन्त्रीले कांग्रेस शीर्ष नेतृत्वलाई बोलाएका हुन् ।
कांग्रेसले सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ । कांग्रेसको कारण संसद बैठक सञ्चालन हुन सकेको छैन ।
हिउँदे अधिवेशनका तीन वटा बैठक अवरोध गरेको कांग्रेसले बजेट अधिवेशनको सुरुवातमै अवरोध गरेको छ । कांग्रेसको अवरोधपछि औपचारिक उद्घाटन नै नभई बैठक जेठ १ गतेसम्मका लागि स्थगित भएको छ ।
बैठक स्थगित भएपछि प्रचण्डले निकास खोज्न प्रधानमन्त्रीको तहबाट पहल गरेका हुन् ।