काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा (चैत मसान्तसम्म) १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको केन्द्रीय बैंकले जनाएको छ । आइतबार चालु आर्थिक वर्षको नौ महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै केन्द्रीय बैंकले यस्तो जनाएको हो ।
केन्द्रीय बैंकका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनाभन्दा रेमिट्यान्स २४.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष पनि रेमिट्यान्स आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।
केन्द्रीय बैंकका अनुसार नौ महिनाको अवधिमा झण्डै साढे ५ लाख नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नयाँ तीन लाख २९ हजार ४२२ जना छन् भने पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख १२ हजार ७२१ जना रहेका छन् ।
अघिल्लो वर्षको सोही अवधिमा यो संख्या अझ बढी थियो । केन्द्रीय बैंकको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको यही अवधिमा तीन लाख ८७ हजार ८३९ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए भने दुई लाख १७ हजार ९५९ जनाले पुनः श्रम स्वीकृत लिएका थिए ।