नायक अनमोल के.सी.ले नेपाली फिल्म क्षेत्रमा करिअर सुरुवात गरेको १० वर्ष भएको छ । उनले काम गरेका हिसाबले १० औँ फिल्म प्रदर्शन हुँदैछ, त्यो पनि आगामी जेठ १० गते ।
‘मेगास्टार’ ट्यागसमेत पाएका अनमोल यो फिल्ममार्फत करिब दुई वर्षपछि दर्शक माझ आउन लागेका हुन् । उनको दशौँ फिल्म ‘फर्की फर्की’ प्रदर्शनमा आउन लागेको छ । यसअघि उनको वि.सं २०७९ सालमा फिल्म ‘छड्के–२’ प्रदर्शन भएको थियो ।
अन्य फिल्ममा सफलता पाएका उनलाई फिल्म ‘छड्के–२’ले निकै नमिठो असफलता चखायो । फिल्म ‘फ्लप’ मात्रै हैन ‘सुपर फ्लप’ नै भएको थियो । यसबाट आफ्ना फ्यानहरूलाई बिच्काएको क्षण चिर्दै ‘फर्की फर्की’मार्फत हलमा आफ्नो क्रेज फर्काउन उनी तयारी अवस्थामा देखिन्छन् ।
अलग गर्न खोज्दा दर्शकलाई निराश बनाएका अनमोल फेरि आफ्नै सुरक्षित ‘जनरा’मा फर्कीएका छन् । यसअघि आफूले काम गरेका फिल्मभन्दा बिल्कुलै फरक कथा भएकाले पनि दर्शकको रोजाइमा पर्नेमा उनी निकै आशावादी देखिएका छन् ।
सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘फर्की फर्की’ले टाइम ट्राभल (समय यात्रा)को कथासँग सम्बन्धित छ । फिल्मको ट्रेलर हेर्दा अनमोललाई सुपर पावर भएको भगवानको रूपमा प्रस्तुत गरिएको छ ।
यसै सन्दर्भमा रहेर सूत्र न्यूजका पवन भट्टराईले उनै अभिनेता के.सी.सँग केही जिज्ञासा राखेका छन् । अभिनेता के.सी.सँग गरिएको कुराकानीको सम्पादित अंश :
‘छड्के–२’बाट तपाईँका फ्यानहरू छड्किए, ति फ्यानहरूलाई ‘फर्की फर्की’मा फर्काउन कत्तिको चुनौति होला भन्ने ठान्नुभएको छ ?
मलाई व्यक्तिगतरूपमा अपेक्षाहरू आफ्नो फिल्मबाट राख्दिन, किनभने हामी कलाकारहरूको दायित्व भनेको फिल्म प्रदर्शन नहुन्जेलसम्म कडा मेहनत गर्ने हो । फिल्म चलिसकेपछि जे परिणाम आउँछ, त्यो दर्शकको हातमा निर्भर पर्दछ । जसरी अन्य फिल्मलाई दर्शकले आफ्नो रोजाइमा पार्नुभयो, यो फिल्मलाई पनि रोजाइमा पार्नुहुन्छ भन्ने विश्वास मेरो छ । ‘छड्के–२’मेरो लागि राम्रो सिकाइ बन्यो । किनभने अहिलेसम्म कोही पनि त्यस्तो कलाकार छैन, जसको सबै फिल्म हिट होस् । छड्केले मलाई एउटा बिन्दुमा पुगेर मेहनत गर्नुपर्छ, अझ पुगेको छैन भनेर हौसला र प्रोत्साहन दिने काम गरेको छ । मैले यसलाई जीवनमा भएको एउटा पाठको रूपमा लिएको छु ।
‘फर्की फर्की’मा धेरै मेहनत गरेँ भन्नुभयो । यसअघिको भन्दा तपाईँको मेहनत के आधारमा फरक र भिन्न रह्यो ?
‘फर्की फर्की’ मेरो लागि सबैभन्दा पहिला त मानसिकरूपमा चुनौतीपूर्ण थियो । किनभने जसरी योबीचमा म विभिन्न समस्यामा अल्झें, तिनिहरूलाई पार गर्नुथियो । आफैमा एउटा ठूलो चुनौति थियो त्यो पनि धेरै प्रोजेक्टहरू मध्येमा मैले फर्की फर्की गरेको हुँ । यो चाहीँ मेरो लागि जीवनमा छड्के पछि चुनौतीका हिसाबले महत्वपूर्ण निर्णय थियो ।
निर्माता रोहित अधिकारीसँग फिल्म ‘गाजलु’पछि दोस्रो प्रोजेक्ट गर्दै हुनुहुन्छ । यदि उहाँको ठाउँमा अरु कोही भएको भए ‘फर्की फर्की’मा काम गर्नु हुन्थ्यो या हुँदैन थियो ?
म गर्थें । किनभने मेरो लागि सबैभन्दा महत्वपूर्ण भनेको निर्देशकको भिजन हो । निर्देशकको सोच, दृष्टिमा विश्वास भइसकेपछि आर्थिकरूपमा निर्माताले आफ्नो पक्षबाट धेरै सहयोग गर्नुभएको छ । तर, मेरो लागि भनेको क्याप्टेन अफ द सीप भने जस्तै निर्देशकको सोच र कथा हो । जुन कुरा नै मन परिसकेको भएर अन्य पाटोमा जो कोही भएको भएपनि मेरो लागि फरक पर्दैन थियो ।
तपाईँ अन्य कथाभन्दा बढी ‘लभ स्टोरी’ कथा नै खोज्नुहुन्छ । किन लभ स्टोरीप्रति नै लालायित ?
मलाई कलाकारको हिसाबले सधैँ एउटा भोक चाहिँ हुन्छ, भिन्न–भिन्न चरित्र गर्नलाई । त्यही भएर ‘होस्टल’, ‘जेरी’ र ‘गाजलु’ गरिसकेपछि भिन्न आउनुपर्छ भनेर ‘कृ’ गरेँ । त्यसपछि एउटा स्पोर्ट्स म्यानको भूमिकामा ‘क्याप्टेन’ गरेँ । त्यसपछि फेरि आफ्नो ट्रयाक बिर्सिनु हुन्न भनेर ‘ए मेरो हजुर–३’ र ‘ए मेरो हजुर–४’ मा आएँ । मैंले ‘छड्के–२’ मा थप नयाँ दिन सक्छु कि भनेर एग्री भएको थिएँ ।
सायद मलाई दर्शकले बढी रोजाइमा पार्ने भएर पनि होला, लभ स्टोरी टाइपको फिल्म खेल्न बढी उद्देलित भइरहेको छु । यद्यपि, यो होइन कि म लभ स्टोरी टाइपका मात्रै फिल्म खेल्छु । दर्शकले मलाई जे चिजमा रुचाइदिनु भयो, एउटा कलाकार भएर मेरो लागि भन्दा पनि दर्शकको लागि गर्ने काम भयो । उहाँहरूले जे माग्नु हुन्छ त्यसअनुसारले म चलिराछु ।
फिल्ममा आफूलाई भगवानको रूपमा प्रस्तुत गर्दा कस्तो अनुभूति गर्नुभयो ? ट्रेलरमा पनि तपाइँ भगवान हो भन्ने छ नि ?
फिल्ममा संवाद भए पनि म आफै आफैलाई भगवान चाँहि मान्दिन । त्यो एउटा रोल थियो, त्यही भएर प्रस्तुत गर्दा खेरि अब भनौ न जो मान्छेले समय नियन्त्रण गर्न सक्छ र समय अगाडि पछाडिको जीवन परिवर्तन गर्न सक्छ भने त्यो सन्दर्भमा चाहिँ आफूले आफैलाई होस् या जोकोहीलाई पनि भगवान लाग्ने नै भैहाल्यो । त्यो मान्छेले जीवनमा समय नियन्त्रण गरेर माथि र तल त्यो दुबै नै होला । तर, त्यो बिन्दुमा त्यो पात्रको यात्रामा उसले आफूले आफैलाई भगवान भने र रामायण र महाभारत जस्तो कथा पनि हैन, त्यो पात्र आफ्नो लागि चाहिँ भगवान भएको हो भन्ने चिजमा उसले विश्वास गर्छ र त्यो भूमिका पूरै फिल्मभित्र चाहिँ मैँले निर्वाह गर्न पाएको छु ।
जस्तै, हाम्रो अन्तर्वार्ता फेरि सुरुबाटै गर्न पाए कति मज्जा आउँथ्यो होला । जे होस् त्यस्तो चिजहरूमा आफूले आफैलाई भगवान् मानिनु जस्तै हो ।
भगवान चाहिँ मान्छेले आफूलाई कसरी मान्दो रहेछ ?
जब कसैलाई भनौँ न शक्तिकाली अनुभूति भयो, यो दुनियाँ नै मेरो कब्जामा छ, मैँले जे गरे पनि सही हुन्छ । म कहिल्यै गलत हुन सक्दिन भन्ने जब महसुस हुन्छ, तब न जो कोहीले आफूले आफूलाई भगवान ठान्ने हो ।
‘फर्की फर्की’मा अभिनय गर्न पनि भगवान पात्रले बढी आकर्षण गरेको हो ?
त्यस्तो त हैन, त्यो चाहिँ एउटा पात्रको संवादमा आएको चिज हो । तर, फिल्मको मुख्य विषयवस्तुमा भगवान भन्ने डाइलग आएपनि फिल्म अझ बढी ‘म्याडी’को संघर्ष, उसको खराब समय, राम्रो समयसँगै पारिवारिक सम्बन्ध हुँदै उसको साथी भाइदेखि प्रेम जीवनका विभिन्न कथामा छ । भगवानमा मात्र आधारित नभएर मलाई लाग्छ, यो फिल्ममा दर्शकले आफूले आफूलाई भेट्न सक्नुहुन्छ । युवा पुस्ताका दर्शक मात्र नभएर परिवार र साथी भाइ सबैले हेर्दाखेरी आफूले आफूलाई पनि यो फिल्ममा भेट्नु हुन्छ ।
‘फर्की फर्की’मा अनमोलबाट दर्शकले के पाउँछन् ?
म आफैं अभिनयका हिसाबले पहिलाका फिल्मभन्दा केही परिपक्क हुँदै गएको छु । जब मलाई अभिनयको ‘अ’ पनि थाहा थिएन त्यति नै बेला दर्शकहरूले मैंले खेलेका ‘होस्टल’, ‘जेरी’, ‘ड्रिम्स’ जस्ता फिल्म मनपराइदिनुभयो । कलाकारिताको हिसाबले अहिले धेरै गर्न पाएको छु । मलाई अझ परिपक्क भएको कलाकारका रूपमा देख्न पाउनु हुनेछ । अरु भनेको जो दर्शकलाई मलाई हेर्दा ‘लभ जरना’मा मन परेको छ भने त्यो पनि हेर्न पाउनु हुनेछ । मैले गरेको लभ स्टोरी हेरेर वाक्क लागेको छ भने टाइम लुप भनेर नयाँ किसिमको आइडियोलोजी देख्न पाउनु हुन्छ ।
अनमोल भन्ने बित्तिकै ‘लबर ब्वाइ’ भन्छन् । बिचमा केही फिल्म गरे पनि अनमोललाई प्रयोग मात्रै गरिएको भन्ने टिप्पणी सुनिन्छ । यसलाई कसरी हेर्नुभएको छ ?
सबै जनाले लभ स्टोरी मात्रै भयो, अलिक फरक गर्नुपर्छ भन्दा मैंले फरक पनि गरेँ । फरक गरेर फेरि अहिले आएर लभ स्टोरी नै गर्नपर्छ भनेर भन्नुहुन्छ । अब त्यो सबैजनाको विचारअनुसार फरक हुन्छ । म अरुको कुराभन्दा पनि मैले आफैलाई फलो गर्ने गर्छु । मलाई प्रयोग गरेको हो नै चाहिँ भन्दिन, उहाँहरूले विश्वास गरेर नै मलाई लगानी गर्नु उहाँहरूको पनि एउटा ठूलो हात छ । राम्रो कन्टेन्ट भएका फिल्महरू पनि व्यापार नगरेको धेरै छन् भने व्यापार गरेको तर, फिल्म कमजोर भएको पनि रेकर्ड धेरै छन् । राम्रो फिल्म भन्न राम्रो व्यापार गरेको मात्रैलाई भन्ने हो की, समीक्षकरूपमा मात्रै राम्रो भएको फिल्मलाई राम्रो भन्ने हो, अहिलेसम्म छुटिएको छैन । मुख्य कुरा त दर्शकलाई मन पर्नुप¥यो ।
‘फर्की फर्की’मा जसिता गुरुङसँग सहकार्य गर्दाको अनुभव कस्तो रह्यो ?
एकदमै सहयोगी अनुभव भयो उहाँसँग काम गर्दा । अरुभन्दा पनि दर्शकले पहिलो पटक नै हामीलाई राम्रो जोडी देखिएको भन्ने गरेको पाइरहेको छु । त्यसले पनि एउटा फिल्मको चर्चा भइरहेको छ । बाँकी उहाँ जे–जस्तो भए पनि एउटा कलाकार भएर मैले सक्दो सहयोग गर्ने र उहाँले मलाई सहयोग गर्ने छँदैछ । अझ उहाँ नृत्य पृष्ठभूमिमा त उत्कृष्ट हुनुहुन्छ, जसका कारण मलाई समेत नृत्य गर्न ठूलो सहयोग गर्नुभयो ।
तपाईँको नेपाली फिल्म क्षेत्रमा १० वर्ष, १०औं फिल्म, १० गते नै प्रदर्शन गराउन सन्दर्भ मिलाउनु भएको हो ?
यो मिलाएको चाँहि होइन, तर ठ्याक्क मिल्न गयो । कति वटा चिजहरू आफूले नसोचेको कुराहरू हुँदो रहेछ । तर, जसरी सन्दर्भ मिल्यो हामीले कनेक्ट गरौँ । अब यसको सम्बन्ध के हो भन्ने कुरा जेठ १० गते नै थाहा होला । यो भगवानको सिर्जना गर्नु भएको हो कि यो दशाले सिर्जना गर्या हो, त्यही दिन मैले पनि थाहा पाउँछु ।
अन्तिममा, यतिका भनिराख्दा कतै आफूले आफैसँग चुनौती लिइ राखे जस्तो देखियो नि ?
हो । म आफै पनि दर्शकको रूपमा रहेको छु । मैले प्रायः नेपाली फिल्म हेरिरहेको हुन्छु, म कलाकार भएरभन्दा पनि अहिलेको युवा दर्शकसँग बसेर हेर्ने गरेको छु । उहाँहरूलाई कस्तो फिल्म मनपर्छ, उहाँहरूले कस्तो फिल्म हेर्न खोजी रहनुभएको छ, त्यसअनुसार मैले आफ्नो कदम अगाडि बढाउने गरेको छु ।
तस्विर: राज मल्ल