काठमाडौं । “अनेक गरिन्छ तर, सरकार पूरै अवधि लगिन्छ, त्यो अनेक गर्नेभित्र हिजोअस्तीका घटनाहरू पनि हुन् ।” यो भनाई प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुलीका नेता तथा कार्यकर्तालाई सम्बोधनका क्रममा गत बुधबार दिएको अभिव्यक्ति हो । जुन अहिले सामाजिक सञ्जालमा भाइरल छ ।
प्रचण्डले सांकेतिकरूपमा जनता समाजवादी पार्टी (जसपा) नेपाल आफूले फुटाइदिएको बताएका छन् । उनले उल्लासपूर्णरूपमा यस्तो अभिव्यक्ति दिइरहँदा हलमा सहभागीहरूमा खुसीको हाँसो फुटेको थियो ।
गत आइतबार उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल अप्रत्याशित शैलीमा विभाजित भएको थियो । पार्टी विभाजन भइरहँदा उपप्रधान तथा स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा रहेका जसपा नेपालका अध्यक्ष यादव भने विदेश भ्रमणमा थिए । सरकारको तर्फबाट राष्ट्र संघीय जनसङ्ख्यासम्बन्धी कार्यक्रममा सहभागि हुन अमेरिका पुगेका थिए ।
तर, यादव नेपाल नआइपुग्दै जसपा नेपाल दुई टुक्रा मात्रै भएन विभाजित अशोक राई नेतृत्वको समूहले निर्वाचन आयोगबाट जनता समाजवादी पार्टी (जसपा)को नाममा वैधानिकता पनि पाइसकेको थियो ।
आयोगले वैधानिकता दिएको सन्दर्भमा यादव सर्वोच्च अदालत जाने तयारीमा छन् । उनले राई नेतृत्वको जसपाले पाएको वैधानिक संविधान र विद्यमान ऐन, कानुनको विपरित भएको बताएका छन् ।
भलै यादवले गर्ने जिकिरलाई अदालतले सदर गर्ला या नगर्ला तर, यादवको पार्टी भने अब सग्लो रहेन । उनी एकैपटक सानो र कमजोर पार्टीको नेताको रुपमा रहने अवस्थामा पुगे ।
१२ संघीय सांसदमध्ये नयाँ जसपामा ७ सांसद छन् । यादव नेतृत्वको पार्टी सिके राउत नेतृत्वको जनमत पार्टीभन्दा पनि अहिले सानो र कमजोर बनेको छ ।
जसपा नेपाल केन्द्र सरकारमा स्वास्थ्य तथा जनसंख्या र वन मन्त्रालयसहित सहभागि थियो । तर, पार्टी विभाजनसँगै वनमन्त्री नवलकिशोर शाह सुँडी नै नयाँ जसपातिर लागेका छन् भने यादव क्रमशः बर्खास्ती हुने अवस्थामा छन् । प्रधानमन्त्रीसँगको टसलकै बीच गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा यादव सहभागि भएनन् । उनी क्रमशः केन्द्रको सत्ताबाट हात धुने अवस्थामा छन् ।
जसपा नेपाल केन्द्रमा मात्रै विभाजित बनेन, तल्लो तहमा पनि विभाजित बन्यो । जसको असर अब प्रदेश तहमा पनि देखिन थालेको छ ।
कोशी, मधेश र लुम्बिनी प्रदेशसभामा जसपा नेपाल छ । तर, कोशी र लुम्बिनीमा अधिकांश नयाँ जसपातर्फ देखिएका छन् ।
मधेशमा जसपा नेपालकै नेतृत्व सरकार छ । जहाँ सरकार ढाल्ने खेल सुरु भइसकेको छ । आइतबार मात्रै एमाले र माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट आफूलाई अलग गरेका छन् । गणितीयरूपमा दुई पार्टी बाहिरिएसँगै जसपा नेपाल नेतृत्वको मधेश सरकार अल्पमतमा परिसकेको छ ।
हालसम्म मधेशबाट नयाँ जसपातर्फ कोही पनि खुलेका छैनन् । यद्यपि, घटनालाई हेर्दा, जसपा मधेश सरकारबाट पाखा पर्ने निश्चित छ ।
पार्टी विभाजनसँगै यादव नेतृत्वको जसपा नेपाल क्रमशः केन्द्र र प्रदेशको सत्ताबाट पनि एकैपटक पाखा पर्ने अवस्थामा पुगेको छ ।
जसपा नेपालका अध्यक्ष यादवमाथि प्रचण्ड नेतृत्वको वर्तमान सरकार ढाल्न खोजेको आरोप एमाले र माओवादी वृत्तबाट लगाएको पाइन्छ । एमाले–माओवादी समीकरण बनेदेखि नै असन्तुष्टि जाहेर गर्दै आइरहेका यादवमाथि लागेको आरोप त्यति धेरै अस्वभाविक पनि देखिन्न ।
एकीकृत समाजवादीको ठूलो स्वरमा सत्ता ढाल्ने चेतावनीका बीच यादव नेतृत्वबाट जाहेर भइरहेको असन्तुष्टि सत्ता फेरबदलको अभ्याससँग कहीँ न कहीँ नजिक देखिन्छ । जसको परिणाम जसपा विभाजन मात्रै बनेको छैन, सबैतिरको सत्ता राजनीतिबाट पाखा पर्ने अवस्थामा पुगेको छ ।
अर्को भाषामा भन्दा, प्रचण्डसँग दुश्मनी मोल्दा यादव सबैतिरबाट अप्ठ्यारामा परेका छन् । उनी कमजोर र सत्ता राजनीतिबाट पाखा पर्ने अवस्थामा पुगेका छन् ।