काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको संघीय सरकारबाट उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल औपचारिकरुपमा बाहिरिएको छ ।
जसपा नेपालको तर्फबाट सरकारमा पार्टी अध्यक्ष यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री र नेता दिपक कार्की वन राज्यमन्त्रीको जिम्मेवारीमा थिए । सोमबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर दुवैले राजीनामा बुझाएका हुन् ।
वन राज्यमन्त्रीको रुपमा सरकारमा सहभागि नेता कार्कीका अनुसार सरकारबाट बाहिरिँदै जसपा नेपालले सरकारलाई दिएको पनि समर्थन फिर्ता लिएको छ ।
यसअघि आइतबार बसेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।
नेता कार्कीका अनुसार अहिले केन्द्रीय समिति बैठक बस्दैछ । जसले आगामी समय कसरी बढ्ने भन्ने निर्णय लिनेछ ।
पार्टी विभाजन पछि जसपा नेपाल सरकारमा रहने वा नरहने भन्ने दुविधामा थियो । तर, सत्ता नेतृत्वकर्ता मुख्य दुई दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आफ्नो नेतृत्वको मधेश प्रदेश सरकार ढाल्ने गरी सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएपछि जसपा पनि संघीय सरकारबाट बाहिरिएको हो ।