काठमाडौं । नाटक ‘गिल्टी अर नट गिल्टी’ मञ्चन हुने भएको छ । टेकुस्थित कौसी थिएटरमा आगामी जेठ ३ देखि २६ गतेसम्म नाटक ‘गिल्टी अर नट गिल्टी’ मञ्चन हुने भएको हो।
मंगलबार बाहेक साताको प्रत्येक दिन बेलुका ५:३० बजे र शनिबार दिउँसो १ बजेको अतिरिक्त सो हुने यो नाटक रसियन-अमेरिकन लेखक अयन र्यान्डको ‘अन द नाइट अफ जनवरी सिक्सटिन्थ’मा आधारित छ। यसको निर्देशन तथा डिजाइन राजकमल फकिरले तयार पारेका हुन्।
रहस्य र थ्रीलर जनरामा बनेको नाटकले अग्रवाल इन्भेष्मेन्ट भेन्चरका सञ्चालक राधेश्याम अग्रवाल पात्रको १९औं तलाबाट खसेर मृत्यु भएपछि घटना हत्या हो कि आत्महत्या हो भन्ने विषयको अदालती बहस प्रस्तुत गर्नेछ।
नेपालीकरण गरिएको नाटकमा विजय ताम्राकार, आभास अधिकारी, समापिका गौतम, बासना तिमल्सिना, रुपेश लामा, सागर दाहाल, जेम्स ढकाल, अशोक गौतम, नवीन चन्द्र अर्याल, अरुण पौडेल, सुष्मा निरौला, मनिष ब्यन्जु, सदिन लुइँटेल, रौनक कार्की, विजया पौडेल, इशा सिजाली लगायत कलाकारको अभिनय छ।
फकिर ड्रिमको प्रस्तुति रहेको नाटकमा ध्वनि संयोजन नरेश गजुरेलको रहनेछ भने प्रकाश व्यवस्थापन आशान्त शर्माको रहने छ।