काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले आफूमाथि लागेका आरोपबारे बोल्न पाउनु पर्ने अडान कायमै राखेका छन् ।
सोमबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले अध्यक्ष ओलीसँगको छलफलका क्रममा लामिछानले कांग्रेसले सहकारी प्रकरणमा आफूमाथि लगातार आरोप लगाएकाले संसदबाट जवाफ दिन पाउनु पर्ने बताएका हुन् ।
बैठकमा कांग्रेसले संसदीय छानविन समिति माग गरेको अवस्थामा मंगलबारको बैठक कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भएको थियो । छलफलमा लामिछानले कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा विरोध गरे आफूले पनि बोल्न पाउनु पर्ने अडान राखेका हुन् ।
सदनमा जवाफ दिन पाउने आफ्नो अधिकार भएकाले कसैले खोस्न नमिल्ने उनको तर्क थियो । उनले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन कांग्रेसले संयम अपनाउनु पर्ने सुझाव दिए ।
छलफलमा प्रधानमन्त्रीले सदनलाई सहज रुपमा अघि बढाउन कांग्रेससँग छलफल गर्ने बताए ।