काठमाडौं । सरकारले नेपाललाई विदेशी चलिचत्र छायाङ्कन स्थलका रूपमा विकास गर्ने कार्यक्रमलाई निरन्तरता दिने भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले हलिउड तथा बलिउडका चलिचत्रहरूको छायांकन स्थलका रूपमा विकास गरिने बताए । यसअघि आर्थिक वर्ष २०८०/८१ मा पनि सरकारले यो लक्ष्य लिएको थियो ।
“हलिउड तथा बलिउडका फिल्म निर्माताहरूलाइ चलचित्र छायांकनका लागि आकर्षित गरी चलचित्र पर्यटन प्रवद्र्धन गरिनेछ” राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।
सरकारले स्वदेशी चलचित्रको प्रवद्र्धन गर्न ‘परिवर्तनका लागि कला र साहित्य’ कार्यक्रम सञ्चालन गर्ने पनि उल्लेख गरेको छ । यो कार्यक्रम अघिल्लो वर्ष पनि उल्लेख थियो ।
सरकारले नीति तथा कार्यक्रममा चलचित्र र कला क्षेत्रको प्रवद्र्धनका कुरा समेट्दै आएको भए पनि ठोस कदम भने चाल्न सकेको छैन ।