काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले केही स्थानमा बदली रहने जनाएको छ ।
विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित मुलुकका पहाडी भागमा आंशिक बदली रही बाँकी तराई भेगमा मौसम मुख्यतया सफा रहेको छ ।
विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने तथा तराई क्षेत्रमा पनि आंशिक बदली हुनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका केही तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही देशका बाँकी भेगमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।