काठमाडौं । सन्दीप लामिछानेले उच्च अदालत पाटनबाट सफाइ पाएका छन् । न्यायाधीशहरू सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले उनलाई सफाइ दिएका हुन् ।
गौशाला २६ माथि बलात्कार गरेको आरोपमा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।
यसअघि मंगलबार नै न्यायाधीहरूले फैसला दिने गरी सामान्यतया अदालतको समयभन्दा बढी समय बहस गरेका थिए । तर, राति फैसला गर्दा गलत सन्देश जाने भएकाले उक्त मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।
न्यायाधीशहरूले सन्दीपको मुद्दा पहिलो नम्बरमा राखेर बहस सुरु गरिएको थियो । उनको मुद्दामा फैसला नसकिएपछि सोही अवस्थाबाट आज सुनुवाइ भएको थियो ।
गौशाला २६ लाई बालिग ठहर गर्दै सहमतिमै करणी भएको भन्दै उच्च अदालतको सन्दीपको पक्षमा फैसला गरेको हो ।
फैसलामा भनिएको छ, ‘जन्म दर्तालगायतका विभिन्न कागजातअनुसार गौशाला २६ नाबालिग नभएको र सहमतिमै करणी भएको हुन आएको देखिन्छ, यसकारण सन्दीप दोषी नभएको ठहर्छ ।’
पछिल्लो फैसलासँगै लामिछानेलाई टी २० विश्वकप खेल्ने पहिलो ढोका खुलेको छ ।
योसँगै नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन फुकुवा गरेर आइसीसीको सहमति लिएपछि उनले विश्वकप खेल्न पाउने छन् ।